२७ भदौ, काठमाडौं।
हालै देशमा भएका विरोध प्रदर्शनका क्रममा निजी क्षेत्रका सम्पत्तिमा भएको तोडफोड र आगजनीप्रति राष्ट्रिय व्यावसायिक पहल (#NBI) ले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
NBI ले यस्ता गतिविधिहरूको घोर निन्दा गर्दै यसले देशको अर्थतन्त्रमा गहिरो नकारात्मक असर पार्ने चेतावनी दिएको छ ।
निजी क्षेत्रमाथि हिंसा र यसको असर
NBI का अनुसार, प्रदर्शनका क्रममा निजी क्षेत्रको जनधनको क्षति भएको छ, र यसको क्षतिपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ । विगतका दशकौंदेखि आन्दोलनहरूको मारमा निजी क्षेत्र पर्दै आएको छ, जसले उद्यमीहरूलाई हतोत्साहित गरेको छ ।
NBI ले निजी क्षेत्रको भूमिकालाई देशको रोजगारी सिर्जना, उत्पादकत्व, र आर्थिक वृद्धिमा महत्त्वपूर्ण रहेको बताएको छ ।
यदि निजी क्षेत्रले आफूलाई सुरक्षित महसुस गर्न सकेन भने, रोजगारी र उत्पादनशीलतामा गिरावट आउनुका साथै अर्थतन्त्रमा दीर्घकालीन नकारात्मक असर पर्ने निश्चित छ ।
यस्तो अवस्थामा स्वदेशी र विदेशी लगानी आकर्षित गर्न पनि गाह्रो हुनेछ ।
जेन-जीको अभियान र शान्ति सुरक्षाको आह्वान
NBI ले भ्रष्टाचारको अन्त्य गर्ने उद्देश्यले चलाइएको जेन-जीको यस अभियानप्रति आफ्नो पूर्ण ऐक्यबद्धता जनाएको छ । उनीहरूले शून्य सहिष्णुताका साथ भ्रष्टाचारविरुद्धको बाटोमा अगाडि बढ्नुपर्ने बताएका छन् ।
यस विषम परिस्थितिमा मानवीय तथा भौतिक सम्पत्तिको सुरक्षामा चुनौती देखिएको भन्दै NBI ले शान्ति व्यवस्था कायम राख्न नेपाली सेना र अन्य सुरक्षा निकायहरूलाई प्रभावकारी कदम चाल्न अनुरोध गरेको छ । NBI ले जनताको जीवन र सम्पत्तिको सुरक्षाको ग्यारेन्टी दिन पनि माग गरेको छ ।
NBI ले प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाका परिवारजनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
शान्ति र सुरक्षाको प्रत्याभूति भएमा उद्योग व्यवसाय सञ्चालन गर्न, रोजगारीलाई निरन्तरता दिन र थप रोजगारी सिर्जना गर्न निजी क्षेत्र प्रतिबद्ध रहेको NBI ले जनाएको छ ।
For more: Private Sector Economic Crisis