सामाजिक सञ्जाल बन्द गर्ने निर्णय खारेज गर्न प्रचण्डको माग
२० भदौ, काठमाडौं।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गर्दै तत्काल खारेज गर्न माग गरेका छन्।
प्रचण्डले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको यो कदम संविधानविरोधी, अलोकतान्त्रिक र जनविरोधी भएको बताएका छन्।
उनले भनेका छन् कि यो निर्णयले अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन गरेको मात्र नभई, सर्वोच्च अदालतले प्रकाशन र प्रसारणसम्बन्धी कानूनी व्यवस्था गर्न दिएको आदेशको अपव्याख्या गरेको आरोप समेत लगाएका छन्।
उनले सरकारको कदमले सामाजिक सञ्जालमार्फत गरिएको आलोचना दबाउने, आफ्ना हित जोगाउने र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने प्रयासलाई निरन्तरता दिएको बताएका छन्। साथै, यस निर्णयले वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सम्पर्क र सञ्चारलाई पनि जटिल र असहज बनाएको प्रचण्डको भनाइ छ।
प्रचण्डले स्पष्ट पारेका छन् कि माओवादी केन्द्र सामाजिक सञ्जालको नियन्त्रणको पक्षमा नभई उचित नियमनको पक्षमा अडिग रहेको छ। उनले भने, “सरोकारवालाको सहभागिता र अपनत्व हुने गरी विधेयक अघि बढाउनुको सट्टा कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक कदम हो।”
अध्यक्ष प्रचण्डले संविधानले प्रत्याभूत गरेको अधिकारको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको सम्मान र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सरकारको ध्यानाकर्षण गराउँदै, उक्त निर्णय तत्काल खारेज गर्न जोडदार माग गरेका छन्।
For More:-Prachanda social media shutdown repeal