प्रभु बैंकका सीईओ अशोक शेरचनसहित ४ जनालाई थप ३ दिन म्याद
२७ मंसिर, काठमाडौं ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित चार जनामाथि अनुसन्धानका लागि थप तीन दिनको म्याद थप गरिएको छ।
उच्च अदालत पाटनले सीईओ शेरचन, डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणिराम पोखरेल, प्रमुख कर्जा अधिकृत (सीसीओ) रिवाज श्रेष्ठ र रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन) शाक्यलाई अनुसन्धान जारी राख्न तीन दिनको म्याद दिएको हो।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार बैंकिङ कसुर सम्बन्धी अनुसन्धानका लागि म्याद थप गरिएको हो। शेरचन, पोखरेल र श्रेष्ठलाई सीआईबीले मंसिर १४ गते पक्राउ गरेको थियो भने राजेन्द्र शाक्य मंसिर १७ गते पक्राउ परेका थिए।
पक्राउपछि उनीहरूमाथि क्रमशः मंसिर १५ गते पाँच दिन, मंसिर १९ गते दुई दिन, मंसिर २२ गते पाँच दिन र हाल पुनः तीन दिनको म्याद थप गरिएको हो।
सीआईबीले प्रभु बैंकबाट प्रवाह भएको गुणस्तरहीन कर्जा तथा कर्जा दुरुपयोगको विषयमा अनुसन्धान गरिरहेको छ। राष्ट्र बैंकबाट जारी निर्देशन र प्रचलित कानुन विपरीत कार्य गरी बैंकलाई आर्थिक हानी–नोक्सानी पुर्याएको, साथै सोही अपराध लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौँ रुपैयाँ कर्जा प्रवाह गरी दुरुपयोग गरिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीको भनाइ छ।
यसै प्रकरणमा प्रभु बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि पनि कर्जा अपचलनको आरोपमा अनुसन्धान जारी छ। करिब १ अर्ब रुपैयाँ ठगी भएको दाबी गर्दै प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको उजुरीका आधारमा भट्टचनलाई कात्तिक ११ गते नियन्त्रणमा लिइएको थियो।
सोही मुद्दामा सीआईबीले कात्तिक २२ गते प्रभु बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर आवश्यक कागजातहरू संकलन गरेको जनाएको छ।
For More:-Prabhu Bank CEO Custody



