ग्लोबल मनी विक २०२६: प्रभु बैंकद्वारा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
८ चैत, काठमाडौँ ।
प्रभु बैंक लिमिटेडले ‘ग्लोबल मनी विक २०२६’ को अवसरमा देशभर साताव्यापी वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
“Smart Money Talks” भन्ने मूल नाराका साथ चैत्र २ गतेदेखि सुरु भएको यो अभियान चैत्र ८ गते समापन भएको हो। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका सातै प्रदेशमा रहेका आफ्ना २०० भन्दा बढी शाखाहरू मार्फत बालबालिका, युवा, महिला तथा स्थानीय समुदायलाई लक्षित गरी विभिन्न चेतनामूलक कार्यक्रम र प्रभातफेरी आयोजना गरेको थियो।
यस अभियानका क्रममा बैंकले आधुनिक बैंकिङ, बचतको महत्त्व, कर्जा र लगानीका प्रक्रियाका साथै डिजिटल बैंकिङका फाइदाहरूबारे जानकारी प्रदान गरेको छ। विशेषगरी पछिल्लो समय बढ्दै गएको डिजिटल ठगीबाट बच्न अपनाउनुपर्ने सावधानीहरू जस्तै—अज्ञात स्रोतबाट आएका लिंकहरू नखोल्न र संवेदनशील व्यक्तिगत विवरणहरू कसैसँग साझा नगर्न सचेत गराइएको छ।
कार्यक्रम बागमती प्रदेशका ४७, गण्डकीका ५२, कोशीका ३९, मधेशका २९, लुम्बिनीका १६, सुदूरपश्चिमका १९ र कर्णाली प्रदेशका १४ शाखाहरूबाट प्रभावकारी रूपमा सञ्चालन गरिएको बैंकले जनाएको छ।
हाल नेपालभर ३१२ शाखा कार्यालय, २८५ एटीएम र ६८ एक्स्टेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको प्रभु बैंकले ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै आएको छ।
बैंकले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पनि निरन्तर रूपमा वित्तीय साक्षरता र सुरक्षासम्बन्धी सूचनाहरू सम्प्रेषण गर्दै आएको उल्लेख गरेको छ।
For More:-Global Money Week 2026


