पोखरामा ‘दोस्रो वाडा अटो शो २०२६’ आयोजना हुँदै: ह्युमानोइड रोबोटदेखि भिन्टेज कारसम्म मुख्य आकर्षण
१० चैत, काठमाडौँ।
गण्डकी प्रदेशकै सबैभन्दा ठूलो र भव्य सवारी प्रदर्शनी ‘दोस्रो नाडा प्रजेन्ट्स् वाडा अटो शो २०२६’ यही चैत्र ११ गतेदेखि १५ गतेसम्म पोखरामा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपालको प्रस्तुति र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशन (वाडा) को आयोजनामा यो मेला हुन लागेको हो।
पर्यटकीय राजधानी पोखराको लेकसाइडस्थित ताल बराही चोकको खेल मैदानमा आयोजना हुने यस प्रदर्शनीको प्रबद्र्धकमा पोखरा महानगरपालिका रहेको छ भने व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स) ले गरिरहेको छ।
प्रदर्शनीका मुख्य आकर्षणहरू: रोबोटिक्स र भिन्टेज कार
यस वर्षको अटो शोमा सवारी साधन मात्र नभई आधुनिक प्रविधि र इतिहासको विशेष संगम देख्न पाइनेछ:
ह्युमानोइड रोबोट प्रदर्शन: अत्याधुनिक प्रविधिसँग सर्वसाधारणलाई साक्षात्कार गराउन युनीट्रि जी वान (Unitree G1) ह्युमानोइड रोबोट, युनीट्रि गो टू र चंखे रोबोटहरू प्रदर्शनमा राखिनेछ।
भिन्टेज कार शो: नयाँ पुस्तालाई नेपालका ऐतिहासिक र पुराना मोडेलका कारहरूबारे जानकारी दिन विशेष ‘भिन्टेज कार शो’ को आयोजना गरिनेछ।
१६ भन्दा बढी ब्राण्डका सवारी साधनहरूको सहभागिता
मेलामा १६ वटा ब्राण्डका ४–पाङ्ग्रे, १० वटा ब्राण्डका २–पाङ्ग्रे, र ६ वटा ब्राण्डका लाइट कमर्शियल सवारी साधनहरू रहनेछन्। सहभागी प्रख्यात ब्राण्डहरूमा बीवाइडी (BYD), हुण्डाई (Hyundai), किया (Kia), निसान (Nissan), टाटा (Tata), सुजुकी (Suzuki), एमजी (MG), रोयल इन्फिल्ड, र यामाहा लगायतका ३० भन्दा बढी कम्पनीहरू रहेका छन्।
यसका साथै लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण र वित्तीय संस्थाहरूका २० वटा स्टलहरू समेत रहने आयोजकले जनाएको छ।
खल्ती र युनियन पेमार्फत टिकटमा विशेष क्यासब्याक
५ दिनसम्म चल्ने यस प्रदर्शनीमा ४५,००० भन्दा बढी अवलोकनकर्ता आउने विश्वास गरिएको छ। प्रदर्शनीलाई प्रविधिमैत्री बनाउन डिजिटल टिकेटिङको व्यवस्था गरिएको छ:
विद्यार्थीलाई १००% फिर्ता: खल्ती एपबाट टिकट खरिद गर्दा प्रत्येक दिन पहिलो १०० जना विद्यार्थीले शतप्रतिशत क्यासब्याक पाउनेछन्।
साधारण टिकटमा ५०% फिर्ता: पहिलो १०० जना साधारण टिकट खरिदकर्ताले ५० प्रतिशत क्यासब्याक पाउने व्यवस्था क्युआर पार्टनर युनियन पेले गरेको छ।
आर्थिक गतिशीलता र पर्यटनमा टेवा
यातायात अब विलासिता मात्र नभई आवश्यकता बनिसकेको तथ्यलाई मध्यनजर गर्दै अटो व्यवसायीहरूलाई एउटै छानामुनि ल्याउन यो प्रदर्शनी कोसेढुङ्गा सावित हुने आयोजकको विश्वास छ। यसले अटो व्यवसायको प्रवद्र्धन मात्र नभई गण्डकी प्रदेशको आन्तरिक पर्यटनलाई समेत ठूलो टेवा पुर्याउने देखिन्छ।
For more: Pokhara Automobile Exhibition 2026


