कान्ति बाल अस्पतालमा क्यान्सर सर्भाइभरशिप र पेडियाट्रीक प्यालेटिभ केअर’ सम्बन्धी ऐतिहासिक बैठक सम्पन्न
२२ मंसिर, काठमाडौं ।
नेपालमा बाल क्यान्सर हेरचाह प्रणालीलाई सुदृढ बनाउने उद्देश्यका साथ कान्ति बाल अस्पतालमा ‘बाल क्यान्सर सर्भाइभरशिप र पेडियाट्रीक प्यालेटिभ केअर’ (बालिय प्रशामक सेवा) सम्बन्धी महत्वपूर्ण सरोकारवालाहरूको बैठक सफलतापूर्वक सम्पन्न भएको छ।
नेपाल चाइल्डहुड क्यान्सर एलायन्स (NCCA) को सहयोग र रमेश गुप्ता मेमोरियल ट्रस्ट (RGMT) र वर्ल्ड चाइल्ड क्यान्सरको साझेदारीमा सञ्चालित एम्जेन परियोजनाअन्तर्गत आयोजित यस बैठकले क्यान्सरबाट बचेका सर्भाइभरहरू, अभिभावक, स्वास्थ्य क्षेत्रका नेतृत्वकर्ता, तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूलाई एकै मञ्चमा ल्याएको थियो।
सहकार्यका लागि सरकारी र अन्तर्राष्ट्रिय संस्थाको प्रतिबद्धता
बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MoHP), विश्व स्वास्थ्य संगठन (WHO), नेपाल बाल रोग विशेषज्ञ समाज, NAPCare, भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (PAHS), लगायत नेपालका प्रमुख स्वास्थ्य संस्थाहरू र गैरसरकारी संस्थाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको निष्कर्षमा MoHP, WHO र अन्य स्वास्थ्य पेशेवरहरूले बाल क्यान्सर सर्भाइभरशिप र प्यालेटिभ केअर सेवालाई देशव्यापी रूपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता पुनः व्यक्त गरे।
सर्भाइभर र अभिभावकको प्रेरणादायी भोगाइ
कार्यक्रमको पहिलो सत्र ‘सर्भाइभरशिप’ मा केन्द्रित थियो। दुई जना क्यान्सर विजेताहरूले आफ्नो प्रेरणादायी जीवनयात्रा सुनाउँदै कार्यक्रमको सुरुवात गरेका थिए।
कान्ति बाल अस्पतालकी डा. सानी सिपाइ ले सञ्चालन गरेको प्यानल छलफलमा बाल क्यान्सरबाट बचेका बालबालिकाका अभिभावकहरूले आफ्ना संघर्ष र विजयका कथा हृदयस्पर्शी रूपमा प्रस्तुत गरे।
डा. सिपाइ ले भन्नुभयो, “सर्भाइभरशिप केवल क्यान्सर निको हुनु मात्र होइन, त्यो निको भइसकेपछिको निरन्तर यात्रा सँग पनि जोडिएको हुन्छ।”
बालिय प्रशामक सेवामा विशेषज्ञता
कार्यक्रमको दोस्रो सत्र बालिय प्रशामक सेवा को महत्वमा केन्द्रित रह्यो।
डा. निशा ज्योति श्रेष्ठ ले नेपालमा विद्यमान प्यालेटिभ केअर सेवाको अवस्था, संरचना र आवश्यकताबारे प्रस्तुति दिनुभयो।
डा. अलीना देवी भण्डारी र सुश्री हिमानी बिष्ट लगायतका स्वास्थ्यकर्मीहरूले PICU/NICU मा प्यालेटिभ केअर तालिम प्राप्त गरेपछि बिरामीको हेरचाहमा देखिएका सकारात्मक परिवर्तन र प्रभावहरू साझा गर्नुभयो।
For more: Pediatric Palliative Care stakeholder meeting



