३० भदौ, काठमाडौं।
नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलले जेन-जी आन्दोलनका क्रममा केही बैंकका शाखा र एटिएममा क्षति पुगे पनि समग्र बैंकिङ प्रणाली पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेका छन्। सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण समारोहमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन्।
गभर्नर पौडेलका अनुसार, आन्दोलनका क्रममा ६८ वटा बैंकका शाखा कार्यालय र ६९ वटा एटिएममा केही असर परेको छ, तर बैंकिङ प्रणालीका सबै सिस्टमहरू भने ठीकठाक छन्। उनले आन्दोलनकारीले बैंकलाई नै लक्षित गरेको जस्तो नदेखिएको पनि बताएका छन्।
यस घटनापछि बैंककर्मीहरूको मनोबल घटेको भन्दै गभर्नर पौडेलले अहिले सबैको मनोबल बढाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिए। “पहिले पनि चुनौती थियो, अहिले थपिएको हो। तर, समाधानका लागि हामी तयारीमा छौं,” उनले भने।
गभर्नर पौडेलले अनुभवी व्यक्तित्वका रूपमा आएका अर्थमन्त्री रामेश्वर खनालको नेतृत्वमा अर्थ मन्त्रालय र राष्ट्र बैंकबीचको सहकार्यले बैंकिङ प्रणालीलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। उनले सरकार, व्यवसायी र बैंककर्मीबीचको सहकार्यबाट नै अहिलेको समस्या समाधान गर्न सकिने बताए।
For More:-Nepal banking system secure