परोपकार अस्पतालको ६६औं वार्षिकोत्सव: सेवा र सुविधामा उल्लेखनीय प्रगति, श्रावण ३१ मा विशेष कार्यक्रम

Paropakar Hospital 66th Anniversary
Share It On:

२९ साउन, काठमाडौं। 

देशकै पहिलो मातृत्व तथा स्त्रीरोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, आफ्नो ६६औं वार्षिकोत्सव श्रावण ३१ गते धूमधामका साथ मनाउँदै छ।

वि.सं. २०१६ साल भाद्र १० गते श्रीकृष्ण जन्माष्टमीको पावन दिन ४० शैय्याबाट सुरु भएको यो अस्पताल अहिले ४८९ शैय्यासहित नेपालकै केन्द्रीय रिफरल म्याटर्निटी अस्पतालको रूपमा परिचित छ।

प्रारम्भमा परोपकार श्री इन्द्र राज्य लक्ष्मी देवी प्रसूति गृह तथा शिशु कल्याण केन्द्र नाममा स्थापना भएको यो अस्पताल हाल महिला तथा प्रसूति सम्बन्धी प्रमुख अस्पतालका रूपमा चिनिन्छ।

यहाँ आमा सुरक्षा कार्यक्रम, नवजात शिशु उपचार, पाठेघरको मुखको क्यान्सर रोकथाम, निशन्तान (IVF) सेवा, स्तनपान व्यवस्थापन केन्द्र, दुर्गम क्षेत्रका गर्भवती महिलाको हवाई उद्धार, मानसिक स्वास्थ्य ओपीडी, सामाजिक सुरक्षा इकाई, विस्तारित स्वास्थ्य सेवा (EHS) लगायतका महत्त्वपूर्ण कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार, गत वर्षभित्र अस्पतालले सेवा विस्तार र स्तरोन्नतिमा उल्लेखनीय प्रगति हासिल गरेको छ। अनलाइन टिकटिङ प्रणाली, थप बिलिङ काउण्टर र सुपथ मूल्यमा औषधि उपलब्ध गराउने सुविधा सुरु भइसकेको छ।

कुपण्डोलस्थित नयाँ सेवा विस्तार तथा अध्ययन–अनुसन्धान भवनबाट सुरक्षित गर्भपतन, परिवार नियोजन, प्याथोलोजी, रेडियोलोजी, फार्मेसी, तालिम कक्ष, आंशिक प्रसूति–स्त्रीरोग सेवा र छात्रावासको व्यवस्था गरिएको छ, जसले बिरामीहरूले लामो पालो बस्नुपर्ने समस्या घटाएको छ।

नेपालमै पहिलो पटक नवजात शिशुको वंशानुगत तथा विकलाङ्ग रोग पहिचानका लागि नियोनेटल स्क्रिनिङ सेवा सञ्चालन भई करिब १८०० शिशुको परीक्षण सम्पन्न भएको छ। त्यस्तै, मानसिक स्वास्थ्य ओपीडी सुरु गरी गर्भवती तथा सुत्केरी महिलाको मानसिक समस्या एकै स्थानमा समाधान गर्न सम्भव भएको छ। शैय्या चापलाई मध्यनजर गर्दै एनआईसीयू बेड संख्या १० बाट २० मा पुर्याइएको

मेटर्नल तथा फेटल इको सेवा सुरु गरिएको छ भने निशन्तान उपचार (IUI, IVF) सेवामा अत्याधुनिक ICSI मेसिन थपिएको छ, जसले सफलता दरमा वृद्धि ल्याएको छ। अब्सट्रेटिक्स फिस्टुला उपचार सेवा पनि निःशुल्क रूपमा उपलब्ध छ।

स्वास्थ्यकर्मी तालिमको गुणस्तर सुधारका लागि अत्याधुनिक सिमुलेशन ल्याब सञ्चालन गरिएको छ, जसले अभ्यासमा हुने जोखिम कम गर्नेछ। साथै, बिरथिङ सुट र मिडवाइफको संख्या वृद्धि गरिएको छ। विस्तारित स्वास्थ्य सेवा (EHS) बिहान र बेलुकी दुवै सत्रमा उपलब्ध छ।

निर्देशक डा. अधिकारीले अस्पतालले आफ्नो गुरु योजना अनुसार पुराना संरचना हटाई नयाँ पूर्वाधार, उपकरण र दक्ष जनशक्ति विकासमा निरन्तर काम गरिरहेको बताए। उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित सबै सरोकारवालासँग सहकार्य गर्दै मातृ तथा नवजात स्वास्थ्य सेवामा अझै गुणस्तर वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे ।

For more: Paropakar Hospital’s 66th Anniversary


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *