३१ साउन, काठमाडौं।
देशको विशिष्टीकृत महिला स्वास्थ्य संस्था, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आज आफ्नो ६६औं वार्षिकोत्सव विशेष समारोहका साथ मनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा अस्पतालले विगत एक वर्षमा हासिल गरेका उल्लेखनीय उपलब्धिहरू, सेवा विस्तारका भावी योजनाहरू र मातृशिशु स्वास्थ्यमा पुर्याएको अतुलनीय योगदानको विस्तृत समीक्षा प्रस्तुत गरियो।
२०१६ सालमा केवल ४० शैय्याबाट सेवा सुरु गरेको यो अस्पताल आज ४८९ शैय्या सञ्चालन गर्दै लाखौं महिला तथा नवजात शिशुका लागि आशा र भरोसाको केन्द्र बनेको छ। वार्षिकोत्सव समारोहमा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार, गत आर्थिक वर्षमा मात्रै करिब २१ हजार सफल प्रसूति गराइएको छ भने बहिरंग विभागबाट २ लाख ३३ हजारभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्।
अस्पतालमा ३२ हजार ९ सय ५१ जना महिला भर्ना भएका थिए, जसमध्ये २० हजार ९ सय ८ जनाले प्रसूति सेवा लिएका छन् र यसबाट २१ हजार १ सय ४१ शिशुको जन्म भएको छ। ९ हजार १ सय १० जनाको शल्यक्रिया (सिजरियन सेक्सन) मार्फत प्रसूति भएको थियो, जुन कुल प्रसूतिको ४३.५७% हो। स्त्रीरोगतर्फ ५ हजार ६ सय ७३ जना महिलाले सेवा लिएका छन् भने नवजात शिशु सघन उपचार कक्ष (NICU) मा २ हजार ५ सय ७ जना शिशु भर्ना भएका थिए। बहिरंग सेवातर्फ १ लाख ८५ हजार ८ सय ६ जना महिलालाई सेवा प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीले प्रसूति गृहले नेपालको मातृशिशु स्वास्थ्य सुधारमा खेलेको ऐतिहासिक भूमिकाको उच्च प्रशंसा गरे। उनले अस्पतालले सुरु गरेका ‘नियोनेटल स्क्रिनिङ’, ‘ह्युमन मिल्क बैंक’ (अमृत कोष) र पुनः सञ्चालनमा ल्याइएको आईभीएफ सेवा जस्ता नवीनतम कार्यहरू राष्ट्रिय स्वास्थ्य प्रणालीकै लागि अनुकरणीय भएको बताए।
मन्त्री पौडेलले भविष्यमा काठमाडौंका दुई नगरपालिका (चन्द्रागिरी र महालक्ष्मी) मा २५-२५ शैय्याका स्याटेलाइट प्रसूति अस्पताल निर्माणको सम्झौता भइसकेको जानकारी गराउँदै यसले उपत्यकाको बढ्दो चाप व्यवस्थापनमा सहयोग पुग्ने बताए।
अस्पतालका निर्देशक श्री प्रसाद अधिकारीले पछिल्लो समय अस्पतालले सेवामा उल्लेख्य विस्तार गरेको जानकारी दिए। स्त्रीरोगसम्बन्धी दुरबिन प्रविधि (ल्याप्रोस्कोपी/हिस्टेरोस्कोपी) बाट गरिने शल्यक्रिया (गत आ.व.मा ३५७ वटा), गर्भवतीका लागि मानसिक स्वास्थ्य ओपिडी (१ हजार ७ सय २९ जनाले सेवा लिए) र फेटल तथा मेटर्नल इको सेवा (६ हजार १ सय ३८ जनाले सेवा लिए) जस्ता सेवाले बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने दर घटाएको उनको भनाइ थियो।
भूकम्पपछि रोकिएको सरकारी आईभीएफ सेवा पुनः प्रभावकारी रूपमा सञ्चालनमा आएको र यसले निःसन्तान दम्पतीका लागि ठूलो राहत पुगेको उनले बताए। गत आ.व.मा ८ हजार ६ सय ९३ जनाले निःसन्तान सम्बन्धी ओपिडी सेवा लिएका थिए भने २ सय ९८ जनाले आई.यू.आई. र ४३ जनाले आई.भी.एफ. सेवा लिएका छन्। नेपालमा पहिलोपटक सुरु गरिएको नियोनेटल स्क्रिनिङ टेस्ट मार्फत करिब २ हजार नवजात शिशुको परीक्षण गरिएकोमा २० जनामा विभिन्न रोगको पहिचान भई उपचार गरिएको छ।
अस्पतालले सामाजिक उत्तरदायित्वका कार्यहरूलाई पनि उच्च प्राथमिकतामा राखेको छ। लैंगिक हिंसा पीडितका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मार्फत गत आ.व.मा ४ सय ५९ जनाले सेवा लिएका छन्। दुर्गमका महिलाका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हवाई उद्धारपछिको उपचार (४१ जनाको उपचार गरियो) र गरिब तथा विपन्नका लागि सामाजिक सुरक्षा इकाई मार्फत निःशुल्क उपचार (१ हजार २ सय २७ जनाले सुविधा उपयोग गरे) जस्ता कार्यहरू सञ्चालनमा छन्।
निःशुल्क सुरक्षित गर्भपतन सेवा १ हजार ६ सय ६७ जना महिलाले लिएका छन्। अस्पतालको खोप शाखाबाट शिशुहरूलाई ६६ हजार १ सय ७७ डोज खोप र गर्भवती महिलाहरूलाई १६ हजार ६ सय १३ डोज खोप लगाइएको छ।
अस्पतालको स्थापना २०१६ साल भदौ १० गते श्री कृष्ण जन्माष्टमीको दिन ४० शैय्याबाट परोपकार संस्थाले गरेको थियो। २०६४ साल असोज १३ गते विकास समिति गठन आदेश ऐनअन्तर्गत परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल नामकरण भएको यो केन्द्रीय विशिष्टीकृत अस्पतालले मातृशिशु स्वास्थ्यमा महत्वपूर्ण योगदान दिँदै आएको छ। हाल ४१५ स्वीकृत शैय्या रहे तापनि ४८९ शैय्या सञ्चालनमा छन्।
यसले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत विभिन्न विषयमा एम.डी./एम.एस. को पढाइका साथै युरो/गाईने, गाईने/अंको र गत शैक्षिक सत्रदेखि इन्फर्टिलिटी विषयमा पनि फेलोसिपको पढाइ सुरु गरेको छ। २०८१ चैत महिनादेखि प्रसूति फिस्टुलाको निदान तथा उपचार पनि निःशुल्क सुरु गरिएको छ। २०७३ सालदेखि आफ्नै परोपकार नर्सिङ्ग क्याम्पस सञ्चालनमा छ, जहाँ स्नातक तहमा मिडवाइफरी र बीएससी नर्सिङ्गका विद्यार्थीहरू अध्ययनरत छन्।
अस्पतालले बिहान ७:३० देखि ८:३० बजेसम्म पनि EHS (इमर्जेन्सी हेल्थ सर्भिस) सेवा सञ्चालनमा ल्याएको छ र फोहोरको वैज्ञानिक व्यवस्थापनसमेत गर्दै आएको छ। कुपण्डोलस्थित नवनिर्मित भवनमा अत्याधुनिक सिमुलेशन ल्याब पनि सञ्चालनमा आएको छ, जसले स्वास्थ्यकर्मीको तालिमको गुणस्तर सुधार गर्ने अपेक्षा गरिएको छ।
For More:-Paropakar Hospital 66th Anniversary