दोस्रो पक्कु फेस्टिवल: नेपाली संस्कृति र परम्पराको जगेर्नामा प्रेसिडेन्ट बिजनेश गुपको पहल
६ असोज, काठमाडौं।
अध्यक्ष शंकर भण्डारीको नेतृत्वमा प्रेसिडेन्ट बिजनेश गुपले दोस्रो पक्कु फेस्टिवल आयोजना गर्दैछ। नेपाली संस्कृति र पाककलाको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको यो फेस्टिवलले परम्परागत पक्कुलाई ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।
साथै, यसले स्थानीय किसान र पर्यटन क्षेत्रलाई समेत सहयोग गर्ने अपेक्षा गरिएको छ।
नेपाली परम्परागत स्वादलाई ब्रान्डमा रूपान्तरण गर्ने लक्ष्यसहित प्रेसिडेन्ट बिजनेस ग्रुपले दोस्रो पक्कु फेस्टिवल आयोजना गर्न लागेको छ । सोमबार (असोज ६ गते) देखि असोज ११ गतेसम्म महाराजगञ्जस्थित प्रेसिडेन्ट सेकुवामा फेस्टिवल आयोजना हुने भएको हो ।
‘स्वाद, स्वास्थ्य र आतिथ्यता सँगसँगै’ नारासहित हुने फेस्टिवलबारे जानकारी दिंदै ग्रुपका अध्यक्ष शंकर भण्डारीले पत्रकार सम्मेलनमार्फत् परम्परागत पक्कुलाई नेपाली र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने संकल्प व्यक्त गरे ।
शहरमा बढ्दो आधुनिक परिकारका बीच हराउँदै गएको मौलिक स्वादलाई पुनर्जीवित गर्ने उद्देश्यले २०८१ असोज १७ देखि २१ गतेसम्म पहिलोपटक पक्कु फेस्टिवल आयोजना गरिएको थियो ।
पाँच दिनमा करिब ८ हजार पाहुनाले पक्कुको स्वाद चाखेका थिए । कतिपय पाहुनाले ‘यो स्वाद आमाको हातको स्वाद जस्तै लाग्यो’ भन्दै भावुक प्रतिक्रिया दिएका थिए, जसले आयोजकलाई यसलाई निरन्तरता दिन प्रेरणा मिलाएको अध्यक्ष भण्डारीले स्मरण गरे ।
यसपटक फेस्टिवल पाँच दिनसम्म चल्नेछ। करिब ५० खसी बराबरको मासु प्रयोग गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
फेस्टिवलमा परम्परागत तोरीको तेलमा पकाइएको पक्कु, घ्यूमा बनेको विशेष पक्कु, युवापुस्ताका लागि हल्का मसालेदार पक्कु, राजसी राइस, नदीका स्थानीय माछा, रैथाने शाकाहारी परिकार लगायतका विविधता प्रस्तुत गरिनेछ ।
साथै पुरातात्विक चिनारीको प्रदर्शनी, लिङ्गे पिङ, सांस्कृतिक प्रस्तुति र रमाइलो स्टेज कार्यक्रम पनि रहनेछ। पक्कु फेस्टिवलले स्थानीय किसान, आपूर्तिकर्ता, मसला उत्पादक, होटल व्यवसायी र पर्यटन क्षेत्रलाई प्रत्यक्ष फाइदा पुर्याउने आयोजकको विश्वास छ ।
गत वर्ष करिब ८ हजार आगन्तुक आएका फेस्टिवलमा यस वर्ष १२ हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।
हाल प्रेसिडेन्ट सेकुवाले चितवन र लुम्बिनीमा आफ्नो शाखा विस्तार गरिसकेको छ भने निकट भविष्यमा पोखरा र विराटनगरमा पनि शाखा खोल्ने तयारी गरिएको छ । दीर्घकालीन लक्ष्य अन्तर्राष्ट्रिय पक्कु तथा नेपाली खाना फेस्टिवल आयोजना गर्ने रहेको अध्यक्ष भण्डारीले बताए ।
फेस्टिवललाई व्यवसायिक कार्यक्रम मात्र नभई संस्कृतिको पुनर्जीवनको अभियानका रूपमा प्रस्तुत गरिएको आयोजकको भनाइ छ । भण्डारीले भने, “हामीलाई विश्वास छ, पक्कु केवल परिकार होइन, नेपालीको सामूहिक स्मृति, प्रेम र संस्कृतिको जीवन्त प्रतीक हो ।
यदि हामी सबैले मिलेर मौलिक स्वादलाई सम्मान गर्न सक्यौं भने, पक्कु हाम्रो राष्ट्रिय पहिचान बन्न सक्छ।”
For more: Pakku Festival 2082