१६ असार, काठमाडौं ।
अनलाइन बाल सुरक्षाको लागि कार्यरत संस्था चाइल्डसेफनेटले “नेपालमा अनलाइन यौन शोषण र दुर्व्यवहारबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न अभिभावकको भूमिकाको अभिवृद्धि” शीर्षकको अनुसन्धान प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक गरेको छ।
प्रतिवेदन राष्ट्रिय बालअधिकार परिषद्की सदस्य–सचिव इन्द्रादेवी ढकाल र चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले ललितपुरमा आयोजित एक कार्यक्रममा संयुक्त रूपमा सार्वजनिक गर्नुभयो।
अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै इन्द्रादेवी ढकालले भन्नुभयो, “बालबालिकाको सुरक्षामा अभिभावकको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। प्रविधिको तीव्र विकास र बालबालिकाको बढ्दो अनलाइन पहुँचले उनीहरूलाई अनलाइन हिंसाका विभिन्न रूपको जोखिममा पारेको छ। यस्तो संवेदनशील विषयमा चाइल्डसेफनेटको अग्रणी भूमिका सह्रानिय छ ।
सेफ अनलाइन फण्ड र टेक कोअलिशनको सहयोगमा संचालित यस अध्ययनले काठमाडौं र ललितपुर जिल्लामा मिश्रित विधि (मिस्ड-मेथोड) प्रयोग गरिएको थियो, जसमा ६ देखि १७ वर्ष उमेरका बालबालिकाका ९०० जना अभिभावकसंग सर्वेक्षण गरिनुका साथै, निर्धारित समूह छलफल (फोकस ग्रूप डिस्कॉम) र अभिभावक, बालबालिका, विज्ञहरू तथा सरोकारवालासँग विस्तृत अन्तर्वार्ता (की इन्फोर्म्यान्ट इन्टरभ्यू) गरिएको थियो।
अनुसन्धानका प्रमुख अनुसन्धानकर्ता र प्रतिवेदनका मुख्य लेखक अनिल रघुवंशीले भन्नुभयो, “यस अध्ययनले अभिभावकहरूले अनलाइन यौन शोषण र दुर्व्यवहारका सन्दर्भमा बालबालिकालाई कसरी सुरक्षित राख्ने गरेका छन् भन्ने बुझाइ, दृष्टिकोण र व्यवहारबारे जानकारी संकलन गरेको छ।
साथै, उनीहरूले भोगिरहेका चुनौतीहरूको पनि चित्रण गरिएको छ।” अध्ययनमा एकल आमाबुवा, अपाङ्गता भएका बालबालिकाका हेरचाहकर्ता जस्ता व्यक्तिहरुका धारणा पनि समावेश गरिएका छन्।
रघुवंशीका अनुसार अभिभावकहरुमा अनलाइन जोखिमबारे चिन्ता त देखिन्छ तर धेरैले त्यस्ता जोखिमबाट बालबालिकालाई जोगाउन आवश्यक ज्ञान, जानकारी र सहयोगको अभाव महसुस गरेका छन्।
प्रतिवेदनका सह–लेखिका तुलसा खड्काले भन्नुहुन्छ, “धेरैजसो बालबालिकाले आफ्नै मोबाइल नभए तापनि, उनीहरूले परिवारका सदस्यहरूको मोबाइलबाट इन्टरनेट चलाउने गरेका छन्। तीमध्ये धेरैले अभिभावकीय निगरानीबिना डिजिटल प्लेटफार्म प्रयोग गर्छन्। ४५ प्रतिशत बालबालिकाले आफ्नै उपकरण प्रयोग गर्ने गरेको जानकारी अभिभावकहरुले दिए ।
साथै, ३४ प्रतिशत बालबालिकासँग आफ्नै सामाजिक सञ्जाल खाता थियो। २९ प्रतिशत बालबालिकाले परिवारका सदस्यहरुका खाताहरू प्रयोग गर्ने गरेको पाइयो, जसमा अधिकांश बालबालिकाले आमाको खाता प्रयोग गर्ने गरेका थिए।”
धेरैजसो अभिभावकहरू आफ्ना बालबालिकाको अनलाइन क्रियाकलापबारे अनविज्ञ थिए, जसले गर्दा ती बालबालिका वयस्क सामग्री र अनलाइन ग्रुमिङको जोखिममा परेका थिए।
त्यसै गरि अनलाइन ग्रुमिङ, अनलाइन बाल यौन शोषण, र हिंसात्मक वा यौनजन्य सामग्रीबारे धेरैजसो अभिभावकहरूलाई थोरै मात्र जानकारी थियो।
अनुसन्धान प्रतिवेदनका अर्का सह–लेखक सुलभ रत्न बज्राचार्यले भने, “नेपालका ८५ प्रतिशत अभिभावकहरूले अनलाइन CSEA सम्बन्धी विषयमा आफ्ना बच्चासँग कहिल्यै कुराकानी गरेका छैनन्।” उनका अनुसार मुख्य कारणहरूमा असहजता, जानकारीको अभाव र उमेरअनुकूल नभएको धारणा सामेल छन्।
त्यसैगरि लैंगिक अल्पसंख्यक क्वेयर बालबालिकाले आफ्नै परिवारभित्रबाट समेत घृणा, भेदभाव र दुर्व्यवहार सहनुपर्ने अवस्था रहेको अनुसन्धानले उजागर गर्यो।
अनुसन्धान प्रतिवेदनमा अभिभावकहरूद्वारा सुझाइएका डिजिटल सुरक्षा सम्बन्धी शिक्षा तथा प्राविधिक समाधानका उपायहरु पनि समेटेका छन्। अध्ययनका अनुसार ७३ प्रतिशत अभिभावकहरूले अहिलेसम्म कुनै पनि अभिभावकीय संयन्त्र प्रयोग नगरेको पाइयो ।
त्यसैले ७० प्रतिशत अभिभावकले बाल साइबर सुरक्षा विज्ञद्वारा सञ्चालन गरिने प्रत्यक्ष सचेतनामूलक कार्यक्रमहरू प्रभावकारी हुने धारणा राखे भने ३१ प्रतिशतले भिडियो, एप्स, अनलाइन कोर्स, वेबसाइट वा पम्प्लेट र पुस्तिकाजस्ता मुद्रित सामग्री प्रभावकारी हुने जनाए ।
कार्यक्रममा अभिभावकीय शिक्षा प्रशिक्षक डिसु भण्डारी मानन्धर र बाल शल्य चिकित्सक डा. नृपेश राजभण्डीरीले बालबालिकालाई अनलाइन यौन शोषण र दुर्व्यवहारबाट सुरक्षित राख्न अभिभावकहरुको भूमिकाबारे रोचक र उत्प्रेरक फायरसाईड च्याट संवाद गरे ।
चाइल्डसेफनेटको बारेमा: चाइल्डसेफनेट बालबालिका र युवाहरुलाई अनलाइन जोखिमबाट सुरक्षित राख्न र डिजिटल सुरक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले अनुसन्धान, पैरवी तथा शिक्षामार्फत काम गरिरहेको एक विशिष्टीकृत संस्था हो।
सेफ अनलाइनको बारेमा: सेफ अनलाइन डिजिटल संसारमा बालबालिकाको सुरक्षाका लागि समर्पित एकमात्र विश्वव्यापी लगानी संयन्त्र हो। नवीनतामा लगानी गर्दै र मुख्य सरोकारवाला पक्षहरूलाई एकत्रित गर्दै, सेफ अनलाइनले बालबालिका र युवाहरूका लागि सुरक्षित र सशक्त डिजिटल संसार निर्माणमा योगदान पुर्याउँदै आएको छ।
टेक कोअलिशनको बारेमा: टेक कोअलिशन एक विश्वव्यापी प्रविधि कम्पनीहरूको गठबन्धन हो, जसले अनलाइन बाल यौन शोषण र दुर्व्यवहारको अन्त्यका लागि मिलेर काम गर्दछ।
यो गठबन्धनले विज्ञहरू, सरकारहरू र नागरिक समाजसँग सहकार्य गर्दै प्रविधि, अनुसन्धान र नीतिगत नवीनतामार्फत सुरक्षित अनलाइन वातावरण प्रवर्द्धन गर्दछ ।
For more: Online Sexual Abuse Discussions with Children