खाद्य सुरक्षामा लापरबाही : ओम अस्पतालको क्यान्टिन ७ दिनका लागि बन्द
१८ कात्तिक २०८२, काठमाडौं ।
खाद्य सुरक्षामा लापरबाही गरेको भेटिएपछि काठमाडौं महानगरपालिकाले चाबहिलस्थित ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द गरिदिएको छ।
मंगलबार काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौँका विभिन्न अस्पतालका क्यान्टिनहरूमा खाद्य स्वच्छता अनुगमन गरेको थियो। सो क्रममा ओम अस्पतालको क्यान्टिनमा चरम अव्यवस्था भेटिएपछि तत्काल सात दिनका लागि बन्द गरिएको हो।
अनुगमन टोलीका फुड टेक्नोलोजिस्ट अनिल बस्नेतका अनुसार, उक्त क्यान्टिनमा म्याद गुज्रिएका उपभोग्य वस्तु, अस्वच्छ वातावरण, पेष्ट कन्ट्रोलको असन्तोषजनक व्यवस्था, लेबलविहीन खाद्य वस्तु र खाद्य रंगको अव्यवस्थित प्रयोग गरिएको भेटिएको थियो। उनले बताएअनुसार, क्यान्टिन सञ्चालकले व्यवसाय दर्ता समेत नगरेका कारण सात दिनका लागि बन्द गरी स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको हो।
म्याद गुज्रिएको दूध नष्ट
अनुगमनका क्रममा म्याद गुज्रिएका पाँच बोतल (५०० मिलिलिटर) दूध सञ्चालककै उपस्थितिमा नष्ट गरिएको थियो। हेल्दी बाइट्स सर्भिसेज प्रा.लि.द्वारा सञ्चालित उक्त क्यान्टिनमा देखिएको लापरवाहीका कारण अस्पताल व्यवस्थापनले समेत तत्काल कदम चाल्ने जनाएको छ।
ओम अस्पतालका प्रशासनिक प्रबन्धक विपिन जङ्गमले हाल क्यान्टिन सञ्चालक परिवर्तन भइसकेको र अब संरचना मर्मत, रंगरोगन तथा आवश्यक सरसफाइ पूरा गरी खाद्य स्वच्छता सुनिश्चित भएपछि मात्र पुनः सञ्चालनमा ल्याइने जानकारी दिए।
अन्य अस्पतालका क्यान्टिनको अवस्था
अनुगमन टोलीले मेडिकेयर अस्पतालको द केयर क्यान्टिन र हेल्पिङ ह्याण्ड्स अस्पतालको क्यान्टिनमा पनि स्वच्छता परीक्षण गरेको थियो। तुलनात्मक रूपमा यी दुवै क्यान्टिनको सरसफाइ अवस्था अपेक्षाकृत राम्रो देखिएको खाद्य निरीक्षण अधिकृत खगेन्द्रप्रसाद खतिवडा र सञ्जय चौधरीले जानकारी दिएका छन्। तर, दुवै क्यान्टिनमा पेष्ट कन्ट्रोल व्यवस्था सन्तोषजनक नभएको पनि बताइएको छ।
मेडिकेयर अस्पतालको क्यान्टिनमा खुला डस्टबिन, लेबलविहीन खाद्य वस्तुको प्रयोग र पिउने पानीमा अमोनियाको मापन सीमा भित्र भए पनि सुधार आवश्यक रहेको पाइयो। अनुगमन टोलीले सञ्चालकलाई अनुमति प्राप्त उद्योगका वस्तु मात्र प्रयोग गर्ने, पेष्ट कन्ट्रोल प्रभावकारी बनाउने, आगो जोखिम न्यूनीकरणका उपकरण राख्ने र खाना पकाउने तथा भाँडा माझ्ने ठाउँ छुट्याउन निर्देशन दिएको छ।
हेल्पिङ ह्याण्ड्स अस्पतालको क्यान्टिनमा व्यक्तिगत सरसफाइ सन्तोषजनक देखिए पनि खाद्य रंगको उचित प्रयोग, अनुज्ञापत्र प्राप्त वस्तुको मात्र बिक्री र सुरक्षा उपकरण बलियो बनाउने सिफारिस गरिएको छ।
नियमित अनुगमन अभियान जारी
काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कानुनअनुसार स्वच्छ, जिम्मेवार र सुरक्षित खाद्य व्यवसाय सुनिश्चित गर्नका लागि अस्पताल, होटल, रेष्टुरेन्ट तथा क्यान्टिनहरूको नियमित अनुगमन गरिरहेको जनाएको छ।
महानगरका अधिकारीहरूले जनस्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा अझ कडाइका साथ अनुगमन जारी राख्ने प्रतिबद्धता जनाएका छन्।
For More:-Om Hospital food safety

                                                                    