नेपाल युवा उद्यमी मञ्चको राष्ट्रिय अध्यक्षमा सुदिप घिमिरे चयन

NYEF Elected National President Sudip
Share It On:

३ साउन, काठमाडौं।

नेपाल युवा उद्यमी मञ्च (NYEF) ले आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ कार्यकारिणी समिति गठन गर्दै श्री सुदिप घिमिरेलाई सर्वसम्मतिले राष्ट्रिय अध्यक्षमा चयन गरेको छ। मञ्चको २१औं वार्षिक साधारणसभाको अवसरमा श्रावण २ गते शुक्रवार, काठमाडौंस्थित मर्क्युर होटलमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त घोषणा गरिएको हो।

यस वर्ष “RESONATE” भन्ने मूल विषयवस्तुलाई आत्मसात गर्दै, मञ्चले नेपाली युवा उद्यमशीलता क्षेत्रमा नवीनता, समावेशिता र प्रभावकारिता लाई उच्च प्राथमिकताका साथ अघि बढाउने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको छ ।

नयाँ कार्ययोजना र प्राथमिकता:

मञ्चले आगामी वर्षका लागि महत्वाकांक्षी योजनाहरू सार्वजनिक गरेको छ । यस वर्ष नेपाली युवा उद्यमीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने उद्देश्यसहित छिमेकी मुलुकहरूका युवा उद्यमीहरूसँग रणनीतिक साझेदारी विस्तार गर्ने लक्ष्य राखिएको छ । यसले नेपाली उद्यमशीलतालाई विश्वव्यापी मञ्चमा पुर्‍याउन मद्दत गर्ने विश्वास लिइएको छ ।

यसैगरी, देशभित्रका कलेज, विद्यालय र युवा समुदायहरूसँग सहकार्य गर्दै प्रारम्भिक चरणमै नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन र व्यावसायिक परामर्श प्रदान गर्ने योजना पनि सार्वजनिक गरिएको छ । यसबाट भावी उद्यमीहरूको जग बलियो बनाउने मञ्चको ध्येय छ ।

युवाद्वारा सञ्चालित व्यवसायहरूले भोगिरहेका चुनौतीहरूको गहिरो पहिचान गर्दै मञ्चले सम्बन्धित निकायहरूसँग सहकार्य गरी नीतिगत वकालत गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यसका साथै, नेपालमा व्यवसायमैत्री वातावरण सिर्जना गर्ने दिशामा पनि सशक्त भूमिका निर्वाह गर्ने मञ्चको योजना छ ।

कार्यक्रमको उद्घाटन तथा विशिष्ट उपस्थिति:

साधारणसभाको औपचारिक उद्घाटन सम्माननीय सभामुख श्री देवराज घिमिरेज्यूले प्रमुख अतिथिको रूपमा गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरू, नेपालको उद्योग व्यवसाय क्षेत्रका अग्रणी व्यक्तित्वहरू तथा साझेदार संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

नवनिर्वाचित राष्ट्रिय कार्यकारिणी परिषद्:

साधारणसभाले निम्नानुसारको नयाँ राष्ट्रिय कार्यकारिणी परिषद् चयन गरेको छ:

अध्यक्षः श्री सुदिप घिमिरे

निवर्तमान अध्यक्षः श्री कुशल सुन्दर श्रेष्ठ

प्रथम उपाध्यक्षः श्री आभूषण ज्योति कंसाकार

द्वितीय उपाध्यक्षः श्रीमती निविता प्रधान

महिला उपाध्यक्षः श्रीमती ऋचा श्रेष्ठ

कार्यसमिति सदस्यहरूः श्री कृष्ण सापकोटा, श्री पवित्र बहादुर गौतम, सुश्री विलाशा श्रेष्ठ, श्री युनेशराज श्रेष्ठ, श्री सुविन श्रेष्ठ र श्री अभिमन्यु गोल्छा

नवनिर्वाचित अध्यक्षको प्रतिबद्धता:

कार्यक्रममा मञ्चले विगतका उपलव्धिहरूको समिक्षा गर्दै आगामी वर्षका योजनाहरूको खाका पनि सार्वजनिक गर्यो । नवनिर्वाचित अध्यक्ष श्री सुदिप घिमिरेले आफ्नो रणनीतिक दृष्टिकोण प्रस्तुत गर्दै नवप्रवर्तन, समावेशिता र प्रभाव मा केन्द्रित रही मञ्चको उद्देश्य र मूल्यहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सम्पूर्ण कार्यसमिति सदस्यहरूले पनि आफ्नो भूमिका निर्वाह गर्दै मञ्चलाई नयाँ उचाइमा पुऱ्याउने अठोट दोहोऱ्याएको बताउनुभयो ।

अध्यक्ष घिमिरेको संक्षिप्त परिचय:

श्री सुदिप घिमिरे SG Group मा एक दशकभन्दा बढी समयदेखि कार्यकारी निर्देशकको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएका एक उद्देश्यकेन्द्रित उद्यमी हुनुहुन्छ । ऊर्जा, उत्पादन, व्यापार र वित्त क्षेत्रहरूमा क्रियाशील SG Group एक स्थापित व्यवसायिक समूह हो । NYEF संगको उहाँको यात्रा सन् २०१९ मा नेपाल युवा उद्यमी मञ्च सुनसरीका संस्थापक अध्यक्षको रूपमा सुरु भएको हो ।

सन् २०२० देखि राष्ट्रिय कार्यकारिणी परिषद्मा कार्यसमिति सदस्यका रूपमा रहँदै उहाँले मञ्चको रणनीतिक विकास तथा प्रमुख पहलहरूमा उल्लेखनीय योगदान दिँदै आउनुभएको छ ।

For more: NYEF Elected National President Sudip Ghimire


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *