नेपाल प्रिमियर लिग २०२५: भारत बाहेकका देशमा DishHome Go मार्फत मात्रै आधिकारिक OTT प्रसारण
८ मङ्सिर, काठमाडौँ।
नेपाल क्रिकेट संघ (CAN) द्वारा आयोजित नेपाल प्रिमियर लिग (NPL) २०२५ को OTT प्रसारण अधिकारसम्बन्धी महत्त्वपूर्ण सार्वजनिक सूचना जारी भएको छ।
CAN र आधिकारिक OTT सेवा प्रदायक डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले संयुक्त रूपमा सूचना प्रकाशन गर्दै सम्पूर्ण दर्शकश्रोता र सरोकारवालाहरूलाई आधिकारिक प्रसारण माध्यम प्रयोग गर्न र अनधिकृत स्ट्रिमिङबाट बच्न आग्रह गरेका छन्।
भारत बाहेकका देशमा DishHome Go लाई विशेष अधिकार
CAN ले जारी गरेको सूचना अनुसार, नेपाल प्रिमियर लिगका सम्पूर्ण खेलहरूको भारत बाहेकका देशहरूमा OTT (Over-The-Top) प्रसारण गर्ने सम्पूर्ण अधिकार डिश मिडिया नेटवर्क लिमिटेडसँग सुरक्षित रहेको छ।
दर्शकहरूले NPL का रोमाञ्चक खेलहरू हेर्नका लागि डिशहोमको आधिकारिक मोबाइल एप “DishHome GO” डाउनलोड गर्नुपर्नेछ। सूचनामा स्पष्ट पारिएको छ कि डिशहोमको OTT प्लेटफर्म (DishHome Go) नै NPL को डिजिटल प्रसारणका लागि एकमात्र आधिकारिक माध्यम हो।
अनधिकृत प्रसारणमा कडा कारबाहीको चेतावनी
CAN र डिशहोमले खेलहरूको अनधिकृत तथा गैरकानूनी प्रसारण, पुन:प्रसारण र सामग्रीको प्रयोग नगर्न कडा चेतावनी दिएका छन्।
निषेधित प्लेटफर्महरू: डिशहोमको OTT प्लेटफर्मबाहेक अन्य कुनै पनि डिजिटल प्लेटफर्म वा सामाजिक सञ्जालहरू जस्तै: YouTube, Facebook, TikTok, Instagram, Twitter, Telegram वा अन्य कुनै वेवसाइट/एपबाट खेलहरूको प्रसारण वा पुन:प्रसारण गर्नु पूर्ण रूपमा निषेध गरिएको छ।
गैरकानूनी कार्य: खेलसँग सम्बन्धित सामग्रीहरूको अनधिकृत बिक्रि वितरण, रेकर्डिङ, सम्पादन वा अन्य कुनै पनि किसिमले प्रयोग गर्नु गैरकानूनी मानिनेछ। यस्ता कार्यमा संलग्न हुनेलाई प्रचलित कानुन बमोजिम कारबाही हुने जानकारी गराइएको छ।
साइबर जोखिमबाट जोगिन आग्रह
सूचनामा सम्पूर्ण दर्शक, विज्ञापनदाता तथा मिडिया साझेदारहरूलाई तोकिएका आधिकारिक प्लेटफर्म (DishHome Go) बाट मात्रै खेल हेर्न अनुरोध गरिएको छ।
साइबर सुरक्षाको विषयमा ध्यानाकर्षण गराउँदै, अनधिकृत लिङ्कहरू, साइटहरू वा माध्यमहरूबाट खेल हेर्न खोज्दा व्यक्तिगत तथा वित्तीय विवरणहरू सार्वजनिक भई साइबर अपराधमा पर्न सकिने जोखिमबारे सचेत गराइएको छ।
यदि कसैले NPL का कुनै पनि खेलहरू अनधिकृत रूपमा प्रसारण गरिरहेको सूचना प्राप्त भएमा CAN वा डिशहोमलाई यथाशीघ्र जानकारी गराउन आयोजक तथा सेवा प्रदायकले संयुक्त निवेदन गरेका छन्।
For more: NPL 2082 OTT Broadcasting Rights




