डिशहोम GO मार्फत एनपीएल २०२५ विश्वभर प्रत्यक्ष प्रसारण
११ मंसिर, काठमाडौँ।
डिशहोम (GO) एपले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को प्रत्यक्ष प्रसारण विश्वभर (भारत बाहेक) सफलतापूर्वक गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ।
उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाबीच भएको रोमाञ्चक भिडन्तलाई एपमार्फत दुई लाखभन्दा बढी दर्शकले प्रत्यक्ष हेर्न सफल भएका छन्। ‘कन्क्युरेन्ट भ्युवर’को यो रेकर्डले डिशहोम GO को प्रविधिक क्षमता प्रमाणित गरेको छ।
उद्घाटन दिन केही प्रयोगकर्ताले प्रत्यक्ष प्रसारण हेर्न समस्या भोगे पनि यो चुनौती केवल डिशहोमको नभई, एनपीएल सिजन पास खरिद प्रक्रियामा देखिएका प्रणालीगत जटिलताका कारण उत्पन्न भएको कम्पनीले जनाएको छ। विशेषगरी आइओएस् प्रयोगकर्तामा सदस्यता खरिदसँग सम्बन्धित समस्या देखिएको थियो भने एन्ड्रोइड प्रयोगकर्ता सहजै खेल हेर्न सक्षम थिए।
डिशहोम GO का इञ्जिनियर तथा अन्तर्राष्ट्रिय प्रविधिक साझेदारको निरन्तर प्रयासपछि दोस्रो दिनदेखि आइओएस् प्रयोगकर्ताले पनि सहज रूपमा सिजन पास खरिद गरी खेल हेर्न सक्ने स्थिति बनेको कम्पनीले स्पष्ट पारेको छ।
दोस्रो र तेस्रो दिनका खेलसम्म अधिकांश प्राविधिक चुनौती समाधान भइसकेका छन्। आधिकारिक च्यानलमार्फत आएका हजारौं अनुरोध एकैपटक सक्रिय गरिएका छन् भने दोहोरो भुक्तानी गर्ने ग्राहकको रकम फिर्ता प्रक्रिया पनि सुरु भएको कम्पनीले जनाएको छ।
बुधबारदेखि खल्ती र इसेवा मार्फत एनपीएल सिजन पास भौचर खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ। यी भौचर नेपालमै मात्र प्रयोग गर्न सकिने छन्। घरपरिवार वा साथीभाईलाई सहयोग गर्न आवश्यक परे जति भौचर किन्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ।
नेपालमा पहिलोपटक पूर्ण रूपमा मोबाइल एपमार्फत प्रत्यक्ष खेल प्रसारण गर्ने नेपाली कम्पनीको मान्यता प्राप्त गर्दै डिशहोम GO अब विश्वस्तरीय स्ट्रिमिङ प्लेटफर्मको रूपमा आफ्नो पहुँच विस्तार गर्दै गएकोछ।
डिशहोम GO का प्रवक्ताले भने, “पहिलो दिन आएका चुनौतीहरू विभिन्न संलग्न पक्षहरूको प्रक्रियासँग सम्बन्धित थिए। त्यसैले सबै प्रयोगकर्तालाई सहजता दिन कठिनाइ भए पनि निःशुल्क हेर्ने व्यवस्था गर्दा करिब २ लाख दर्शकले खेल सहजै हेर्नुभयो। दोस्रो र तेस्रो दिनदेखि सबैले नियमित सदस्यता लिएर खेल हेर्न सक्ने अवस्था बनेको छ।”
उनले दर्शकले भोग्नु परेको असुविधाप्रति क्षमायाचना गर्दै दोहोरो भुक्तानी फिर्ता गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
For More:-NPL 2025 DishHome GO Live



