३१ असार, काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (NIMB) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) बीच NPS–National Card Switch तथा Domestic Card Scheme (NEPALPAY Card) मा आबद्धताका लागि सहमति भएको छ।
सहमतिपत्रमा NIMB का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र NCHL का प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।
NCHL ले यसअघि नै NPS–NCS को पूर्वाधार तयार भइसकेको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो स्विच प्रणालीलाई NEPALPAY कार्ड जारी तथा स्वीकृत गर्न अनुरोध गरिसकेको छ।
सोही अनुरूप बैंकहरू क्रमशः NPS–NCS तथा NEPALPAY प्रणालीमा आबद्ध भइरहेका छन्। व्यावसायिक रूपमा NEPALPAY पूर्वाधार सञ्चालनमा आएपछि NIMB ले आफ्ना ग्राहकहरूका लागि सो कार्ड जारी तथा स्वीकृत गर्न सक्नेछ।
स्वदेशी कार्ड प्रणालीको प्रवर्द्धन
NPS–NCS लाई एकीकृत कार्ड कारोबार प्रणालीका रूपमा स्थापना गरिएको हो, जसले बैंकबीचको अन्तरक्रियाशीलता (interoperability) लाई सुनिश्चित गर्दै स्वदेशी कार्ड कारोबारको लागत घटाउने, अन्तर्राष्ट्रिय कार्ड प्रणालीमा निर्भरता घटाउने, तथा डेटा स्थानीयकरण जस्ता महत्वपूर्ण उद्देश्य पूरा गर्न मद्दत गर्नेछ।
NCHL ले हालसम्म ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था, अधिकांश भुक्तानी सेवा प्रदायक (PSP) तथा प्रणाली सञ्चालक (PSO), र सयभन्दा बढी अप्रत्यक्ष तथा प्राविधिक सदस्यहरूमार्फत विभिन्न राष्ट्रिय भुक्तानी प्रणाली सेवा दिँदै आएको छ।
NIMB को स्विचमा आबद्ध अन्य बैंकहरूलाई पनि फाइदा
NIMB हाल आफैंको कार्ड स्विच सञ्चालन गर्दै आएको छ र हाल ३ वाणिज्य बैंक, ५ विकास बैंक, र १ वित्त कम्पनीलाई पनि कार्ड प्रोसेसिङ्ग तथा स्विचिङ्ग सेवा दिइरहेको छ।
NIMB को स्विच प्रणाली NPS–NCS मा एकीकृत भएसँगै, सोही स्विच प्रयोग गर्ने अन्य बैंकहरू पनि NEPALPAY कार्ड जारी तथा स्वीकृत गर्न प्राविधिक रूपमा तयार हुनेछन्।
नेपालभर NIMB को सञ्जालमा २७५ शाखा, ६५ एक्सटेन्सन काउन्टर, र २६५ एटीएम रहेका छन्। यस्तो विशाल नेटवर्कसहित NIMB को सहभागिताले NEPALPAY कार्ड प्रणालीलाई थप सुदृढ र पहुँचयुक्त बनाउने अपेक्षा गरिएको छ।
For more: NIMB Joins NEPALPAY Card Network