१८ साउन, काठमाडौं।
एनआईसी एशिया क्यापिटल अन्तर्गत सञ्चालित चार म्युचुअल फण्डहरूले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरूका लागि आकर्षक नगद लाभांश घोषणा गरेका छन्।
क्यापिटलका अनुसार, यी चार फण्डहरूले कुल ३६ करोड ५४ लाख २२ हजार ४१० रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने भएका छन्।
यसअन्तर्गत, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १०.१० प्रतिशत, एनआईसी एशिया ब्यालेन्स फण्डले ९.९० प्रतिशत, एनआईसी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड) ले ८.६५ प्रतिशत र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले ५.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्।
लाभांश वितरणका लागि बन्दमुखी योजनाहरूको हकमा साउन २९ गते इकाईधनी दर्ता पुस्तिका बन्द गरिनेछ, जसले गर्दा साउन २८ गते (बुधबार) सम्म इकाईधनी भइसकेकाहरू मात्र लाभांशका लागि योग्य हुनेछन्।
खुलामुखी योजना ‘एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड’ को हकमा भने इकाईधनी दर्ता किताब साउन १८ गतेमै बन्द गरिने कम्पनीले जनाएको छ।
एनआईसी एशिया क्यापिटलले आफ्ना लगानीकर्ताहरूलाई निरन्तर प्रतिफल प्रदान गर्दै आएको छ। विगतको तुलनामा हेर्दा, फ्लेक्सी क्याप फण्डले अघिल्लो आर्थिक वर्षमा १०.५० प्रतिशत प्रतिफल दिएको थियो।
ब्यालेन्सड फण्डले स्थापना वर्षदेखि हालसम्म पाँच वर्षको अवधिमा क्रमशः ८, ३०, १३, १० र ९.२५ प्रतिशत दरमा प्रतिफल दिँदै कुल ७९.५० प्रतिशत नगद प्रतिफल वितरण गरिसकेको छ।
त्यसैगरी, डाइनामिक डेप्ट फण्डले पनि स्थापनापछिको चार वर्षमा क्रमशः १०, ६, १० र १० प्रतिशत दरमा प्रतिफल वितरण गर्दै हालसम्म कुल ३६ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ।
For More:-NIC Asia Mutual Fund Dividend