३२, साउन २०७७, काठमाडौं
नेपालको प्रविधि क्षेत्रका जुम्ल्याहा दाजुभाइ राम र लक्ष्मण रिमालले विकास गरेको कोरोनाको ज्वरो नाप्ने थर्मोग्राफिक क्यामेरालाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले प्रमाणीकरण गरेको छ। भिडभाडमा समेत उच्च ज्वरो भएका व्यक्तिहरुलाई पहिचान गर्न सक्ने उक्त क्यामेरा दाबी गरिए अनुरुप परिषदले गरेको अनुसन्धानबाट योग्य प्रमाणीत गरेको हो। राम लक्ष्मणले तयार पारेको थर्मोग्राफिक क्यामेराको स्ट्याण्डर्ड डेभियसन १.२२ रहेको छ। जहाँ थर्मल गनको स्ट्याण्डर्ड डेभियसन १.२७ र क्लिनिकल थर्मोमिटरको स्ट्याण्डर्ड डेभियसन १.२३ पाइएको छ।
यस आधारमा अस्पताल जाने सेवाग्राहीहरुको ज्वरो र शारीरिक तापमान मापन गर्न राम लक्ष्मणले विकास गरेको प्रविधि एक्युरेट (वास्तविक) रहेको अध्ययन प्रतिवेदनको निश्कर्ष छ।
राम लक्ष्मणको थर्मोग्राफिक क्यामेराले तीन देखि छ मिटरको दुरीबाट सहभागीहरुको शरीरको तापमान लिइएको थियो । जसमा उनीहरुको अनुहार र घाँटीको तस्वीरबाट तापक्रम नापिएको थियो।
विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी फैलिएसँगै संक्रमण रोक्न नेपालमा समेत लकडाउन लागेपछि रामलक्ष्मण दाजुभाइले भिडभाडमा सजिलै ज्वरो नाप्न सकिने गरीथर्मोग्राफिक क्यामेराको विकास गरेका थिए। यो सिस्टम विभिन्न नाकाबाट नेपाल छिर्ने नागरिकको ज्वरो नाप्ने कार्यमा समेत प्रयोग गर्न सकिने राम रिमाल बताउँछन्। ‘यसो गर्न सकिए नाकाहरुबाट नेपाल भित्रिने हरेक व्यक्तिको फोटो सहितको शरीरको तापक्रमको रेकर्ड सरकारको सर्भरमै जम्मा पार्न सकिने उनले बताए।
Author: रमेश बि. सी.