दशैंमा नेवार समूदायले रातो र कालो टीका दुवै लगाउँछन्
१४ असोज २०८२, काठमाडौं।
नेवार समुदायमा मनाइने दशैंको स्वरुप करिब–करिब सनातनी हिन्दू समाजमा देखिने दशैंसँग उस्तै–उस्तै लाग्ने भए पनि यसको आफ्नै विशेषता, तान्त्रिक परम्परा र सांस्कृतिक अभ्यासले फरक बनाएको छ ।
दशैं आउनु अघिदेखि नै घरमा जमरा राख्ने, कलश स्थापना गर्ने र त्यसरी राखिएको जमरा, फूल–पातीलाई विजयादशमीको दिन प्रसादका रूपमा ग्रहण गर्ने प्रथा पनि उत्तिकै प्रचलित छ । तर, नेवार समुदायको दशैंमा अष्टमीदेखि विशेष वातावरण सुरु हुन्छ ।
संस्कृतिका अध्येता सुशील राजोपाध्याय भन्छन्, ‘अष्टमीको दिनदेखि अलि छुट्टै किसिमको परिवेश सुरु हुन्छ । अष्टमीको दिनमा ‘कुछी भ्वय’ खाइन्छ । कुछी भ्वय भनेको कुलका सबै आफन्त, दाजुभाइ, परिवारका सदस्यहरू बसेर भोज खाने चलन हो ।’
‘यसरी भोज गर्दा जेठदेखि कान्छोको अनुशासन पालना गर्ने गरिन्छ, सुरुवात जसले गर्छ, अन्त्य पनि उनैले गर्नुपर्छ, बीचमा उठ्नलाई अनुमति लिनुपर्छ । यो भोज केवल खानपिन मात्र नभई अनुशासन, एकता र कुल संस्कारलाई बलियो बनाउने अभ्यास हो,’ उनले भने ।
अष्टमीको भोलिपल्ट अर्थात् नवमीमा बलि दिने चलन रहिआएको छ । बलि दिने प्रथा आज पनि जीवित छ । कतै बोकाको, कतै राँगाको बलि चढाइन्छ । राजोपाध्यायले भने,‘नवमीको दिन बलि चढाइसकेपछि दशमीको दिनमा स्थापना गरेको कलशबाट जल अभिषेक गरेर त्यसबाट संचय भएको शक्ति आफूसँग लिइन्छ ।
अनि शक्तिको प्रतिकको रूपमा त्यहाँको खड्ग बोकेर यात्रा गर्ने गरिन्छ ।’ यसरी खड्ग बोकेर आफ्नो टोल, छिमेक वा आफ्नै आँगनभित्र जात्रा गरेर कुभिण्डो काट्ने प्रथा रहन्छ । यसलाई शक्ति, विजय र दुष्टमाथि सज्जनताको प्रतिक मानिन्छ ।’
यसै क्रममा तान्त्रिक पूजा गर्ने परम्परा पनि जोडिन्छ । अन्य पूजामा जहाँ वैदिक विधि प्रमुख हुन्छ, नेवार दशैंमा तन्त्र विधि समेत अपनाइन्छ । मासुका विभिन्न परिकार, कालो भट्मास, चिउरा, सियबजी, रक्सी आदि चढाइन्छ ।
यी सबै पञ्चतत्वका प्रतिकका रूपमा लिइन्छन् । राजोपाध्याय भन्छन्, ‘दीक्षा मन्त्र अर्कै हुन्छ । त्यो मन्त्रले सोधन गर्नेबित्तिकै एउटा जीवको रूपमा प्रकट हुन्छ भन्ने विश्वास छ । त्यसबाट एक मुठी निकालेर कसैलाई चढाइदियो भने पनि एउटा सिंगो जीव नै त्यसमा वलि दिएको जस्तो गरेको मान्छि ।’ यसरी तान्त्रिक विधिबाट गरिने पूजा सामान्य दशैंभन्दा फरक र गहिरो तात्त्विक अर्थ बोकेको मानिन्छ ।
नेवार दशैंमा रातो टीका मात्र होइन, कालो टीकाको पनि प्रचलन छ । पूजा गर्ने घरमुलीले नै सबैलाई रातो टीका लगाइदिएझैँ कालो टीका पनि लगाइदिन्छन् । कालो टीका बत्तीको ध्वँसोबाट बनाइन्छ ।
यसका लागि बत्तीको माथि माटोको पाला राखिन्छ र त्यहाँ जम्मा भएको ध्वाँसो विभिन्न आकृतिमा देखापर्छ । त्यस आकृतिलाई भगवानले देखाएको प्रतिक मानिन्छ र त्यसैलाई टीकाको रुपमा प्रयोग गर्ने चलन छ,’राजोपाध्यायका शब्दमा, ‘रातो कपडा र सेतो कपडालाई काटेर डोरोको रूपमा घाँटीमा बाँध्ने गरिन्छ । त्यसपछि कालो टीका पनि लगाइन्छ । ‘मोहनी’ भन्ने शब्द नै यसबाट आएको देखिन्छ ।’
मोहनी भन्ने शब्द केवल ध्वाँसोबाट बनाइने कालो टीकासँग मात्र सीमित छैन् । यसलाई विष्णुको मोहिनी अवतारसँग पनि जोडिन्छ । राजोपाध्यायले समुद्र मन्थनको प्रसङ्ग सुनाउँदै भने,‘दैत्य दानवहरूले अमृत पाउन लाग्दा भगवान विष्णुले मोहिनी रुप धारण गरेर लचक–मचक देखाइदिए ।
त्यसपछि दैत्यहरू छलेर अमृत देवताले मात्र पाए ।’ यसरी देवताले पाएको विजय र मोहिनी रूपले पारेको प्रभावकै प्रतिरुप नेवार दशैंमा मोहनीको रूपमा देखिन्छ । भगवानलाई देख्दा मोहित हुने, आकर्षित हुने भावनाले यसलाई पूजा गर्ने परम्परा बनेको छ ।
काठमाडौंको तलेजु भवानीसँग पनि यो पर्व गहिरो रूपमा जोडिएको छ । तलेजु मन्दिरमा अझै पनि १०८ वा ५४ राँगा–बोकाको बलि दिने प्रथा जीवित छ । यसको कारण प्राचिन कालदेखि नै संख्यात्मक प्रतिकत्वसँग सम्बन्धित छ ।
‘रुद्राक्षको मालामा १०८ वा ५४ दाना हुन्छन् । त्यसैले तलेजुमा पनि त्यति नै संख्यामा बलि दिने चलन आएको हो,’ राजोपाध्यायले स्पष्ट गरे ।
बलि दिएपछि त्यसको मासु आठ भागमा बाँडिन्छ र जेठोदेखि कान्छोका आधारमा बाँडेर खाइन्छ । आँखा, कान, थुतुनो, जिब्रो आदि अङ्गहरू बाँडिन्छन् । बाँकी अवशेष ‘छ्वास अजिमा’लाई चढाइन्छ। यसरी चढाउँदा पशु योनीबाट देव योनीमा जान सक्ने विश्वास रहन्छ ।
नेवार दशैं केवल पूजा वा बलि मात्र नभई कुल संस्कार, परिवारको निरन्तरता, र पितृपूजासँग जोडिएको छ । घरलाई संस्था ठानेर त्यसको निरन्तरता दिन छोराको आवश्यकता रहन्छ । छोराले मात्र पितृलाई स्वर्गमा पुग्ने बाटो खोलिदिने मान्यता रहन्छ । राजोपाध्यायले भने, ‘गृहस्थी चलाउन छोराको भूमिका अपरिहार्य हुन्छ ।
उसैले पितृलाई स्वर्ग जान योग्य बनाउने संस्कार सिकाइन्छ ।’ यसरी दशैंमा गरिने सबै पूजा र संस्कार केवल तत्कालीन धार्मिक अभ्यास नभई दीर्घकालीन सांस्कृतिक निरन्तरतासँग जोडिएको देखिन्छ ।
खानपानमा पनि विशेष प्रथा रहन्छ । दशैंमा चौरासी व्यञ्जन भगवानलाई चढाइन्छ । त्यसपछि केही भ्वय गरेर सबै मिलेर खाने परम्परा हुन्छ । यसले सामाजिक एकता र सहभोजको संस्कारलाई बलियो बनाउँछ ।
यसैबीच, यमरीको परम्परा पनि दशैंसँगै जोडिन्छ । विशेषगरी चौरासी पूजा वा बालबालिकाको दुई वर्षको उमेरदेखि सुरु हुने यो प्रथा धेरै परिवारमा महत्त्वपूर्ण हुन्छ । यमरी पकाउँदा केही घरमा अनिष्ट घटना भएपछि अब हाम्रो घरमा यमरी पाक्दैन भन्ने चलन बनेको पनि सुनिन्छ ।
राजोपाध्यायले भने, ‘यमरी पकाउँदा कसै–कसैको घरमा दुर्भाग्यजनक घटना भयो रे । त्यसपछि अब आइन्दा योमरी नपकाउने भन्ने चलन बनेको पनि हुन्छ ।’
यसरी हेर्दा नेवार समुदायको दशैं केवल एउटा चाड नभई, धार्मिक, सांस्कृतिक र तान्त्रिक अभ्यासहरूको संगम हो । यसमा पूजा, बलि, मोहनी, तलेजु भवानी, चौरासी व्यञ्जन, यमरी सबै मिसिएको छ । बाहिरबाट हेर्दा यो दशैं सनातनी दशैंसँग उस्तै लागे पनि, भित्री अर्थमा यसमा फरकपन छ ।
राजोपाध्यायका शब्दमा,‘प्रक्रियागत हिसाबले सबै उस्तै–उस्तै भए पनि, नेवार दशैंमा आफ्नै किसिमको तान्त्रिक र सांस्कृतिक विशेषता मिसिएको हुन्छ ।’
For more: Newar Dashain in Nepal