नेपालभाषाको पहिलो OTT प्लेटफर्म ‘Newa-Flix’ घोषणा; अब विश्वभरबाट हेर्न सकिने नेपालभाषाका फिल्म र म्युजिक भिडियो
१९ फागुन, काठमाडौँ।
ईलाेहं इन्टरटेनमेन्ट को प्रस्तुतिमा नेपालभाषाको पहिलो OTT प्लेटफर्म ‘Newa-Flix’ को घोषणा सभा किर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्समा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी उपस्थित रहनुभएको थियो।
कार्यक्रममा ईलाेहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले स्वागत मनतब्यकाे क्रममा ईलाेहं प्रकाशन विगत २६ बर्ष देखि निरन्तर संचालन भै राखेकाे र हालकाे प्रवधिहरू पहिला भन्दा धेरै फरक भैसकेकाे कारण यसै प्रविधि संग बढन ईलाेहं इन्टरटेन्मेन्ट संचालनमा आएकाे कुरा राख्नु भयाे ।
किर्तिपुर सिनेप्लेक्सका अध्यक्ष नरेन्द्र महर्जनले नेपालभाषाका चलचित्र प्रदर्शनमा समस्या परे आफूलाई सम्झन आग्रह गर्नुभएको थियो।
विगतमा नेपाली फिल्मका रील पाँचवटासम्म हुने तर भारतीय फिल्मका रील हजारभन्दा बढी हुने गरेको प्रसंग उल्लेख गर्दै उहाँले समयसँगै प्रिमियर र प्रदर्शनको स्वरूप परिवर्तन भएको बताउनुभयो। अहिले OTT प्लेटफर्ममार्फत रिलिज गर्ने प्रचलन बढ्दै गएको र अब नेपालभाषा सिनेमा पनि यसै माध्यमबाट संसार भरका दर्शकमाझ पुग्ने विश्वास वरिष्ठ फोटोग्राफर राजभाई सुवालले गर्नुभयाे ।
प्रमुख अतिथि दिनेश डीसीले विगतमा “पद्मरत्न यात त्याका दिसँ, प्रतिगामी तत्व यात बुका दिसँ” भन्ने पम्प्लेट छाप्ने र भित्ते लेखनकाे समय सम्झँदै सांस्कृतिक आन्दोलनको सन्दर्भ प्रस्तुत गर्नुभयो। उहाँले ईलाेहं प्रकाशनका COO दर्शनवीर शाक्यको मुक्तकण्ठले प्रशंसा गर्दै सम्पदा र संस्कृतिका लागि काम गर्नु ठूलो कुरा भएको बताउनुभयो।
“बाँच्नु मात्र ठूलो कुरा होइन,” भन्ने धारणा राख्दै उहाँले नेपाल चलचित्र विकास बोर्ड ले ‘सिलु’ र ‘राजमती’ जस्ता कृतिहरू डिजिटलाइजेशन गर्नु पर्ने कुराकाे जाेड दिनुभयो। नेपालभाषाका सामग्री प्रवर्द्धनका लागि ‘Newa-Flix’ उपयुक्त प्लेटफर्म हुने विश्वास व्यक्त गर्नुभएको थियो।
नेपालभाषाको पहिलो OTT प्लेटफर्म ‘Newa-Flix’ घोषणा कार्यक्रममा इलोहं प्रकाशनका COO दर्शनवीर शाक्य ले यस पहललाई नेपालभाषा क्षेत्रमा नयाँ आयामका रूपमा व्याख्या गर्नुभएको छ।
उहाँले सानैदेखि नेपालभाषा क्षेत्रमा हुर्किएको स्मरण गर्दै यस क्षेत्रमा निरन्तर योगदान दिँदै आएको बताउनुभयो। दुई वर्षको मेहनतपछि ‘Newa-Flix’ सार्वजनिक गर्न सफल भएको उल्लेख गर्दै इन्टरनेटको माध्यमबाट नेपालभाषाका सम्पूर्ण सिनेमा र म्युजिक भिडियो हेर्न सकिने जानकारी दिनुभयो।
“यसलाई माया गरिदिनुहोस्,” भन्दै उहाँले दर्शकको साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभएको थियो। सिनेमा हलसम्म पुग्न नसक्ने दर्शकका लागि यो प्लेटफर्म उपयुक्त माध्यम हुने विश्वास व्यक्त गर्दै उहाँले डिजिटल प्रविधिले पहुँच विस्तार गर्ने धारणा राख्नुभयो।
२०२२ सालतिर नेपालभाषामाथि बन्देजको अवस्था रहेको स्मरण गर्दै अहिले समय परिवर्तन भइसकेको र समय अनुसार अगाडी बढनुपर्ने कुरा राख्नु भयाे। नेपालभाषाका चलचित्रलाई व्यावसायिक रूपमा सशक्त बनाउन ‘Newa-Flix’ प्रभावकारी र उपयुक्त मञ्च हुने विश्वास व्यक्त गर्नुभयाे।
कार्यक्रममा ईलाेहं इन्टरटेनमेन्टका अध्यक्ष प्रज्ञादेवी शाक्यकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे साथै वहाँले अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो। वहाँले नेपालभाषा चलचित्र, संस्कृति र सम्पदालाई डिजिटल माध्यममार्फत विश्वदर्शकमाझ पुर्याउने लक्ष्यसहित ‘Newa-Flix’ को औपचारिक घोषणा गर्नु भयाे। यसमा टेक्निकल पक्ष प्लुटाेनिक मिडियाकाे रहेकाे छ ।
For more: Newa-Flix OTT Promote Nepal Bhasa Heritage


