१५ जेठ, काठमाडौं ।
सरकारले नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणमा विनियोजन गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकममा सर्वसाधारणको सहभागिता बढाउने नीति प्रस्तुत गरेका हुन्।
हाल नेपाल टेलिकममा ९१.५३ प्रतिशत सेयर सरकारको स्वामित्वमा छ भने ८.४७ प्रतिशत सेयर मात्र सर्वसाधारणको नाममा रहेको छ।
सरकारले अब टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणमा खुला गरी लगानीकर्ताहरूको सहभागिता बढाउने योजना बनाएको हो। यसअनुसार, सरकारी स्वामित्व घटाइने र सार्वजनिक सहभागिता बढाइनेछ।
अर्थमन्त्री पौडेलका अनुसार, यस कदमले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने, पूँजी बजारमा गहिरो प्रभाव पार्ने र सार्वजनिक सहभागिता मार्फत कम्पनीलाई थप पारदर्शी र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ।