१९ भदौ, काठमाडौं।
नेपाल सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार बसेको बैठकले मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्ने उद्देश्यले यस्तो कदम चालिएको हो ।
मन्त्रालयले निर्णयपछि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै ती सञ्जालहरू आजैदेखि अवरुद्ध गर्न निर्देशन दिएको छ ।
यसअघि सरकारले फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाललाई नेपालमा सूचीकृत हुन अन्तिम पटक सात दिनको समय दिएको थियो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार दिइएको उक्त समय बुधबार सकिएको थियो ।
तर निर्धारित अवधिभित्र कुनै पनि कम्पनीले सूचीकरणका लागि निवेदन नदिएपछि सरकारले निष्क्रिय पार्ने निर्णय गरेको हो ।
हालसम्म मेटा, अल्फाबेट, एक्स, रेडिट, लिंक्डइनजस्ता ठूला कम्पनीहरूले दर्ता प्रक्रियाका लागि मन्त्रालयसँग सम्पर्क गरेका छैनन् ।
यसअघि सर्वोच्च अदालतले अनुमति नलिएका सामाजिक सञ्जाल र ओभर द टप (ओटीटी) एप्ससँगै इन्टरनेट ब्राउजरमार्फत विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि बन्देज लगाउन तथा नियमनका लागि आवश्यक कानुन बनाउन सरकारलाई परमादेश जारी गरेको थियो ।
For More:-Nepal social media ban 2025