नेपालको शानदार जित: ओमानलाई पराजित गर्दै टी-२० विश्वकप छनोटको शीर्ष स्थानमा
३० असोज २०८२, काठमाडौं ।
आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपरसिक्समा नेपालले ओमानलाई हराएको छ ।
बुधबार राति भएको खेलमा नेपाल ले ओमानलाई ३८ रनले पराजित गरेको हो ।
नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ११३ रन बनाउन सक्यो ।
उसका लागि मोहम्मद नदीमले २५ र विनायक सुक्लाले ३२ रन बनाए । अन्य ब्याट्सम्यानहरुले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
नेपालका लागि गुल्शन झाले चार ओभरमा ३१ रन दिँदै महत्वपूर्ण तीन विकेट लिए । त्यस्तै सोम्पाल कामी र नन्दन यादवले दुई दुई विकेट लिए भने सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले महत्वपूर्ण अर्धशत प्रहार गरे ।
५१ बलको सामना गरेका भुर्तेलले ७ चौका र एक छक्का सहित ६९ रनको योगदान दिए । त्यस्तै अर्का ओपनर आसिफ शेख २४ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले एक रन मात्र बनाए ।
उपकप्तान दीपेन्द्र सिंह ऐरिको ब्याटिङ चलेन । उनी २ रनमा आउट हुँदा कुलश मल्लले मात्र ७ रन बनाए । त्यस्तै आदिल आलमले १६ र गुल्शन झाले १८ रन बनाए । नन्दन यादवले ९ रन बनाउँदा सोम्पाल कामी एक रनमा नटआउट रहे ।
यो जितसँगै नेपाल ८ अंकसहित प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ भने ओमान ६ अंक सहित दोस्रो स्थानमा छ ।
सुपर सिक्समा ओमानसँगै यूएई र कतारलाई हराइसकेको नेपालले अन्तिम खेलमा शुक्रबार सामाओसँग प्रतिस्पर्धा गर्दैछ ।
For more: Nepal Qualify T20 World Cup 2026