अनलाइन सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न सरकारको निर्देशन
सरकारले देशभर अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन सट्टेबाजी (बेटिङ) एप तथा वेबसाइटहरूलाई २४ घण्टाभित्र पूर्ण रूपमा बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा आइतबार बसेको बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई यससम्बन्धी औपचारिक पत्राचार गर्दै तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको हो।
मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णय र सरकारको नयाँ १०० बुँदे कार्यसूचीलाई कार्यान्वयन गर्ने सिलसिलामा यो कडा कदम चालिएको हो। मन्त्रालयको निर्देशनलगत्तै प्राधिकरणले सेवा प्रदायक (आईएसपी र टेलिकम) हरूलाई बेटिङ साइटहरू ब्लक गर्ने प्रक्रिया सुरु गर्न निर्देशन दिइसकेको छ।


