नेपाल मेडिसिटीमा देशकै पहिलो ‘स्टेप्सटुवाक कोर्ष’ सम्पन्न, ८ जनाको निःशुल्क शल्यक्रिया
२६ जेठ, काठमाडौं।
नेपाल मेडिसिटीको सहकार्य तथा अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था स्टेप्सटुवाकको आयोजनामा नेपालमै पहिलो पटक आयोजना गरिएको चारदिने “फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष” सफलतापूर्वक सम्पन्न भएको छ ।
यसै कार्यक्रममा उपचारका लागि आएका ८ जना विरामीलाई मेडिसिटीले निशुल्क सेवा प्रदान गरेको छ ।
जेठ २० देखि २३, २०२६ सम्म नेपाल मेडिसिटीमा सञ्चालन भएको यस कार्यक्रमले जटिल खुट्टा तथा गोलीगाँठो (फुट एण्ड एंकल) विकृतिको उपचार, ज्ञान आदान–प्रदान तथा चिकित्सकहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
कार्यक्रमको सफल सञ्चालनमा नेपाल मेडिसिटीको अर्थोपेडिक विभागको महत्वपूर्ण भूमिका रहेको थियो । विशेषगरी मेडिसिटीका फुट एण्ड एंकल विशेषज्ञ चिकित्सक डा. दमन झाको नेतृत्व र समन्वयमा यो अन्तर्राष्ट्रियस्तरको कार्यक्रम नेपालमा आयोजना सम्भव भएको हो ।
स्टेप्सटुवाक विश्वका विभिन्न स्रोत–साधनको सीमित पहुँच भएका समुदायमा खुट्टा तथा गोलीगाँठोका जटिल विकृतिहरूको निःशुल्क शल्यक्रिया, पुनस्र्थापना सेवा तथा स्थानीय स्वास्थ्यकर्मीहरूको क्षमता विकासमा सक्रिय अन्तर्राष्ट्रिय संस्था हो ।
यस कार्यक्रमको आयोजना स्टेप्सटुवाकले गरेको थियो भने नेपाल मेडिसिटीले स्थानीय संयोजन, व्यवस्थापन तथा प्राविधिक सहजीकरण गरेको थियो ।
कार्यक्रमको उद्घाटन समारोहमा नेपाल मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल मेडिसिटी केवल उपचार केन्द्र मात्र नभई निरन्तर सिकाइ, व्यावसायिक विकास तथा ज्ञान आदान–प्रदानको प्लेटफर्मका रूपमा स्थापित भएको बताउनुभयो ।
उहाँले स्वास्थ्य सेवाको वास्तविक प्रगति पूर्वाधार र प्रविधिले मात्र नभई ज्ञान साझेदारी, सहकार्य तथा दक्ष जनशक्ति निर्माणबाट सम्भव हुने उल्लेख गर्नुभयो । साथै उहाँले अन्तर्राष्ट्रिय विशेषज्ञ टोलीलाई नेपाली चिकित्सकहरूसँग आफ्नो अनुभव र विशेषज्ञता साझा गरेकोमा धन्यवाद दिँदै यस पहलले नेपालको फुट एण्ड एंकल उपचार क्षमतामा दीर्घकालीन योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी, स्टेप्सटुवाकका संस्थापक तथा अध्यक्ष डा. मार्क मायर्सनले सम्पूर्ण सहभागीलाई स्वागत गर्दै तालिम, सहकार्य र सेवामार्फत बिरामीको उपचारस्तर सुधार गर्ने साझा लक्ष्यलाई पुनः दोहोर्याउनुभयो ।
कार्यक्रममा विश्वप्रसिद्ध फुट एण्ड एंकल विशेषज्ञहरू चिलीका डा. क्रिस्टियन ओर्टिज, भारतका डा. राजेश साइमोन, पोर्चुगलका डा. म्यानुअल साउसा तथा अमेरिकाका डा. नरेन गुर्बानीले सहभागिता जनाउनुभएको थियो । साथै स्टेप्सटुवाकसँग आबद्ध अन्तर्राष्ट्रिय प्रशिक्षार्थी चिकित्सकहरूको समेत सहभागिता रहेको थियो ।
चार दिनसम्म सञ्चालन भएको कार्यक्रममा पहिलो दिन शैक्षिक प्रस्तुतीकरण तथा वैज्ञानिक सत्रहरू आयोजना गरिएका थिए । दोस्रो दिन बिरामीहरूको विस्तृत परीक्षण, इतिहास संकलन तथा शल्यक्रिया योजना निर्माण गरिएको थियो भने तेस्रो र चौथो दिन प्रत्यक्ष शल्यक्रिया सञ्चालन गरिएको थियो ।
कार्यक्रममा देशभरका विभिन्न अस्पतालका अर्थोपेडिक तथा फुट एण्ड एंकल क्षेत्रमा रुचि राख्ने चिकित्सकहरूको सहभागिता रहेको थियो ।
यस अवसरमा नेपाल मेडिसिटीका फुट एण्ड एंकल सर्जन डा. दमन झाले भन्नुभयो, “नेपालमा पहिलो पटक यस प्रकारको विशेष फुट एण्ड एंकल डिफर्मिटी करेक्शन कोर्ष आयोजना गरिएको हो, जसमा प्रत्यक्ष अपरेशन सत्र मार्फत युवा चिकित्सकहरूले विश्वस्तरीय विशेषज्ञहरूबाट प्रत्यक्ष सिक्ने अवसर प्राप्त गरे ।
कार्यक्रम अन्तर्गत बालबालिकादेखि वृद्धवृद्धासम्मका जटिल खुट्टा विकृतिबाट प्रभावित ८ जना बिरामीहरूको निःशुल्क शल्यक्रिया तथा उपचार गरिएको छ । यस्ता कार्यक्रमहरूले नेपालमै उच्चस्तरीय फुट एण्ड एंकल सेवा विकास गर्न तथा भविष्यमा अझ बढी बिरामीलाई लाभान्वित बनाउन महत्वपूर्ण भूमिका खेल्नेछन् ।”
नेपाल मेडिसिटीले यस कार्यक्रमलाई उपचार सेवा प्रदान गर्ने अवसर मात्र नभई ज्ञान हस्तान्तरण, सीप विकास तथा नेपालको फुट एण्ड एंकल उपचार क्षमताको दीर्घकालीन सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ ।
यस पहलले भविष्यमा नेपालमै जटिल फुट एण्ड एंकल विकृतिहरूको विशेषज्ञ उपचार सहज रूपमा उपलब्ध गराउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
For more: Nepal Medicity Partners Steps2Walk


