नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण
१ असोज, काठमाडौं।
नेपाल मेडिसिटी अस्पतालले फेरि एक पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ। च्यासल, ललितपुर निवासी ५२ वर्षीय शान्तमान व्यञ्जनकारले आफ्नी ५० वर्षीया श्रीमती नानु व्यञ्जनकारबाट दान गरिएको कलेजो प्रत्यारोपण गराएका हुन्।
व्यञ्जनकार विगत ८ वर्षदेखि कलेजो समस्याले पीडित थिए। गत भदौ ४ गते गरिएको प्रत्यारोपणपछि उनलाई भदौ २३ गते अस्पतालबाट डिस्चार्ज गरिएको हो। ‘मदिरा सेवनकै कारण मेरो कलेजो बिग्रियो, अन्ततः प्रत्यारोपण गर्नुपर्यो,’ व्यञ्जनकारले आफ्नो अनुभव सुनाए।
शुरुआतमा भारतमा उपचार गर्ने सोच बनाएका व्यञ्जनकारले मेडिसिटीका चिकित्सकसँग सल्लाह गरेपछि नेपालमै प्रत्यारोपण गर्ने निर्णय गरेका थिए। उनले भने, “भारतमा उपचार गर्दा खर्च, बसाइ, यातायात र भाषामा समस्या हुने भएकाले नेपालमै गर्न ठिक ठानेँ।”
यो प्रत्यारोपणमा ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख प्रा.डा. उमिद कुमार श्रेष्ठ, कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साह, डा. सञ्जय कुमार यादव, ट्रान्सप्लान्ट एनेस्थेसियोलोजिस्ट डा. अपूर्व शर्मा, डा. निराजन महासेठ र वरिष्ठ रेडियोलोजिस्ट प्रा.डा. रामकुमार घिमिरेको टोली संलग्न थियो।
कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साहले भने, “अब नेपाली नागरिकहरूले यस्तो जटिल उपचारका लागि विदेश जानुपर्ने छैन। नेपालमै दक्ष चिकित्सक टोली र अत्याधुनिक प्रविधिसहित निरन्तर प्रत्यारोपण सेवा उपलब्ध छ। यस सफल प्रत्यारोपणले हाम्रो स्वास्थ्य सेवामा नयाँ उपलब्धि थपेको छ।”
नेपाल मेडिसिटीले आगामी दिनमा पनि निरन्तर कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
For More:-Liver transplant Nepal Mediciti