नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण: सचिव मैनाली
११ असोज २०८२, काठमाडौं।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले विश्व पर्यटन दिवसको अवसरमा बोल्दै नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
सचिव मैनालीले सरकार नियामक र समन्वयकारी भूमिकामा रहने भए पनि वास्तविक कार्यान्वयन र प्रवद्र्धनमा निजी क्षेत्र अग्रपंक्तिमा देखिएको बताए ।
‘नेपालको पर्यटनको कुरा गर्दाखेरि निजी क्षेत्र नै हो,’ उनले भने, ‘सरकार एउटा नियामक निकायको रूपमा, पहुँचकर्ता र समन्वयकर्ता हो, तर पर्यटनको क्षेत्रमा उल्लेखनीय भूमिका निजी क्षेत्रले नै खेलेको छ ।’
उनले नीति सुधार, सरकारी तहबीचको समन्वय र संस्थागत सहकार्यलाई मन्त्रालयले प्राथमिकता दिएको उल्लेख गरे । ‘तीनै तहका सरकारहरुबीच, निजी क्षेत्रहरुबीच र विभिन्न मन्त्रालय तथा निकायहरुबीच समन्वय गरेर मन्त्रालयले पर्यटनको क्षेत्रमा ध्यान दिनेछ,’ सचिव मैनालीले भने ।
उनले स्थानीय, प्रदेश र संघीय सरकारहरूले विभिन्न माध्यमबाट पर्यटकीय गतिविधिहरू सञ्चालन गरिरहेको उल्लेख गरे । ‘हामीसँग नेपाल पर्यटन बोर्ड लगायत पर्यटनसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न अन्य निकायहरू छन् ।
तिनीहरूसँग समन्वय गर्दै आएका छौं,’ उनले थपे ।
सचिव मैनालीले निजी क्षेत्रसँगको निरन्तर संवाद र सहकार्य पर्यटन प्रवद्र्धनको प्रमुख आधार भएको भन्दै मन्त्रालय सधैं सकारात्मक वातावरणमा सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । उनले नीतिगत संवाददेखि अन्य सबै कुरामा निजी क्षेत्रको साथ र समर्थनलाई आफूले उच्च मूल्यांकन गरेको समेत उल्लेख गरे ।
उनले भने, ‘अन्य प्रत्यक्ष अप्रत्यक्ष रुपमा पर्यटनसँग सम्बिन्धीत रहेका निकायहरुसँग हामीले समन्वय गरिरहेका छौं । निजी क्षेत्रहरुसँग पनि हामी पर्यटन क्षेत्रको विकासका लागि हामी छलफल गरिरहेकै छौं ।
निजी क्षेत्रले सार्पोटिभ वातावरणमा मन्त्रालयसँग नीतिगत सम्वाद लगायत हरेक कुराको मैले उच्च रुपमा मूल्यांकन गरेको छु ।
For more: Nepal Marks World Tourism Day 2025