१८ भदौ, काठमाडौं।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नेपाल मेडिकल एसोसिएसनका सदस्यहरुलाई लक्षित गर्दै विभिन्न बैंकिङ सेवामा विशेष छुट दिने भएको छ। यस सम्बन्धमा बैंक र मेडिकल एसोसिएसनबीच व्यावसायिक सम्झौता सम्पन्न भएको छ।
सम्झौतामा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. अनिल बिक्रम कार्कीले हस्ताक्षर गरेका छन्। सम्झौतापछि बैंकले विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ।
सम्झौताअनुसार एसोसिएसनका सदस्यहरुले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका २७५ शाखामार्फत प्रोफेशनल बचत खाता खोल्न सक्नेछन्। यस खातासँगै दश लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध हुने जनाएको छ। साथै सदस्यहरुले व्यावसायिक कर्जा, साना तथा मझौला उद्यम कर्जा, क्लिन सोसल कर्जा, व्यक्तिगत कर्जा, सवारी तथा घर कर्जा लगायतका सेवामा विशेष छुट पाउनेछन्।
त्यस्तै, डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ सेवामा समेत छुटको व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेका अनुसार, यस सम्झौताबाट नेपाल मेडिकल एसोसिएसनका सम्पूर्ण सदस्यहरु प्रत्यक्ष लाभान्वित हुने विश्वास लिइएको छ।
For More:-NIMB Nepal Medical Association Agreement