आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल
२७ कात्तिक २०८२, काठमाडौं ।
दुई दिने ‘सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५’ विहीबारदेखि काठमाडौमा सुरु भएको छ ।
काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा सुरु भएको फेस्टमा सातै प्रदेशका १५० भन्दा बढी स्टार्टअप र इन्नोभेसन सहभागी रहेका छन् ।
फेस्ट उद्घाटन समारोहमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले फेस्टमा राखिएका वस्तुहरुलाई सरकारले प्रमोट गर्ने र गराउने सन्दर्भमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
उनले भने, ‘तपाईहरुले विकास गर्नुभएको कुराहरुलाई सरकारले प्रमोट गर्ने गर्ने र प्रयोग गराउने सन्दर्भमा महत्वपूर्ण भूमिका खेल्नेछ । तर सरकारको पनि आफ्नो धेरै सिमितताहरु छन् यो सिमितता पश्चात पनि सहज वातावरण तयार गर्न सरकार लागि परेको छ ।’
आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार भइसके पनि प्राविधिक कारणले अगाडि बढ्न नसकेको पनि उनको भनाइ छ ।
लिभिङ विथ आइसिटी, आइसिटी फाउन्डेसन नेपाल र स्क्वाड अफ चेन्जमेकरको संयुक्त आयोजनामा हुने फेस्टमा सफ्टवेयर, रोबोटिक्स, ड्रोन, एआई प्रविधि, रकेट तथा एयरोस्पेससम्बन्धी उत्पादन तथा सेवाहरूको प्रदर्शनी गरिएको हो ।
कात्तिक २७ र २८ गते दुईदिनसम्म चल्ने फेस्टमा ड्रोन तथा रोबोटिक्स प्रतियोगिता र जब फेयर समेत सञ्चालन हुनेछन् । फेस्टमा आइसिटी अवार्ड २०२५ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार, सोसल इन्नोभेसन लगायत विधाका ५० भन्दा बढी सेमिफाइनलिस्टहरू पनि सहभागी हुनेछन् । अवलोकनकर्ताले ती प्रडक्ट तथा इन्नोभेसनलाई प्रत्यक्ष अवलोकन गर्ने र भोट गर्ने अवसर पाउनेछन् ।
यस्तै, फेस्टमा प्रवेश निःशुल्क हुनेछ, जसले इच्छुक युवाहरूलाई आफ्ना सिर्जनात्मक प्रविधि र इनोभेसन प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गर्नेछ । त्यस्तै, प्रदर्शनीमा रहेका स्टार्टअप र प्रडक्टमा लगानी गर्न इच्छुक लगानीकर्ताहरूका लागि प्रडक्ट डेमो र नेटवर्किङ सेसनको व्यवस्था पनि गरिएको छ ।
फेस्टमा विभिन्न क्षेत्रका उद्यमी, कर्पोरेट लिडर, नीति निर्माता, उच्च सरकारी अधिकारी, लगानीकर्ता र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहनेछ ।
एआईलाई केन्द्रित गरेर सनवे कलेजले अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ । कलेजले फेस्टमा पनि विभिन्न एआइ प्रोजेक्टहरु प्रदर्शनी गर्नेछ ।
यसैगरी सूचना प्रविधिको क्षेत्रमा प्रतिष्ठित मानिने आइसिटी अवार्ड २०२५ का लागि हाल विभिन्न १५ विधामा छनोट प्रक्रिया जारी छ । यसवर्ष अवार्डका लागि सात सयभन्दा बढी अनलाइन नोमिनेसन प्राप्त भएको आयोजकले जनाएको छ ।
सो अवसरमा आयोजक राजन लम्सालले यस्तो फेस्टले सरकार, निजी क्षेत्र साथै नवयुवाहरुलाई आकर्षित गर्ने बताए । यस्ता कार्यक्रमले स्टार्टअप कम्पनीहरुलाई प्रोत्साहित गर्ने बताए ।
For More:-Nepal ICT Law Progress



