४ साउन, काठमाडौं।
नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड लगातार दोस्रो वर्ष जित्न सफल भएको छ। आईसीसीको वार्षिक सम्मेलन सिङ्गापुरमा सम्पन्न भएको थियो, जहाँ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, र कोषाध्यक्ष पदम खड्का ले उक्त अवार्ड ग्रहण गरे।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार, यो अवार्ड सामाजिक सञ्जालमा समर्थकहरूको उत्साहजनक सहभागिता, डिजिटल पहुँच विस्तार र अन्तरक्रियात्मक सामग्री निर्माणको आधारमा प्रदान गरिएको हो। गत वर्ष जस्तै यसपटक पनि क्यानले वैश्विक स्तरमा प्रतिस्पर्धा गर्दै अन्य क्षेत्रीय विजेताहरू — नामिबिया (अफ्रिका), बर्मुडा (अमेरिका), र इन्डोनेसिया (ईस्ट एसिया प्यासिफिक) लाई पछि पार्दै यो अवार्ड हात पारेको हो।
पारस खड्काले सम्मेलनमा नेपाली क्रिकेटको इतिहास, सफल यात्रा, संरचनागत सुधार, र आगामी योजनाबारे प्रस्तुति दिएका थिए। उनले एनपीएल (नेपाल प्रिमियर लिग) को सफलताका साथै महिला क्रिकेटलाई प्राथमिकतामा राखिएको जानकारीसमेत दिएका थिए।
सचिव खड्काका अनुसार, क्यानले हालैका वर्षहरूमा डिजिटल मिडियामार्फत फ्यानहरूसँगको सम्बन्ध प्रगाढ बनाउन उल्लेखनीय कार्य गरेको छ। अघिल्लो वर्ष क्यानको फेसबुक फ्यानबेस ४०० प्रतिशतले वृद्धि भएको थियो। यस वर्ष पनि स्थिर र उत्साहजनक समर्थन नै यो सफलता प्राप्तिको मुख्य आधार भएको बताइएको छ।
अवार्ड प्राप्त भएपछि क्यानले आफ्ना सम्पूर्ण समर्थक, शुभचिन्तक र नेपाली क्रिकेटप्रेमीप्रति आभार प्रकट गरेको छ।
For More:-Nepal ICC Digital Fan Award