अन्तर्राष्ट्रिय कार्डबाट नेपाल सरकारको राजस्व भुक्तानीको सुरुवात
२ असोज, काठमाडौं।
नेपाल सरकारले अन्तर्राष्ट्रिय कार्डमार्फत राजस्व भुक्तानी गर्ने सुविधाको औपचारिक सुरुवात गरेको छ। महालेखा नियन्त्रक कार्यालय, अध्यागमन विभाग र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा विकसित अनलाइन राजस्व भुक्तानी पोर्टलमार्फत यो सेवा उपलब्ध भएको हो।
महालेखा नियन्त्रक कार्यालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वर प्रसाद खनालज्यूको प्रमुख आतिथ्यमा उक्त सेवाको शुभारम्भ गरिएको हो। कार्यक्रममा मुख्य सचिव, अर्थ सचिव, महालेखा नियन्त्रक, अध्यागमन विभागका महानिर्देशक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पदाधिकारी तथा एनसीएचएलका वरिष्ठ अधिकारीहरुको सहभागिता थियो।
यस सेवाको प्रारम्भसँगै अब अन्तर्राष्ट्रिय पर्यटकहरुले भिसा शुल्क तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने अन्य शुल्कहरू अन्तर्राष्ट्रिय कार्डमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन्। यस कदमले अनलाइन भिसा आवेदन प्रक्रियालाई सहज बनाउने र अध्यागमन विभाग तथा विमानस्थल सेवामा गुणात्मक सुधार ल्याउने विश्वास लिइएको छ।
नेशनल पेमेन्ट स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीचमार्फत कनेक्टआइपीएस गेटवे प्रयोग गरेर कनेक्टआइपीएस वेब/एप र नेपालपे क्यूआरमार्फत कर तथा गैरकर राजस्व भुक्तानी हुँदै आएको छ।
अब राजस्व संकलनमा अन्तर्राष्ट्रिय कार्ड भुक्तानी सुविधा थपिएपछि इलेक्ट्रोनिक भुक्तानीको प्रयोग अझ विस्तार हुने अपेक्षा गरिएको छ। सुरुमा भिसा शुल्क भुक्तानीलाई मात्र समेटिएको भए पनि आगामी दिनमा अन्य सरकारी सेवाहरुमा पनि विस्तार गर्ने योजना रहेको छ।
एनसीएचएलले महालेखा नियन्त्रक कार्यालय र अर्थ मन्त्रालयसँग सहकार्य गर्दै सरकारी खर्च र राजस्व भुक्तानीलाई डिजिटल बनाउने कार्य निरन्तर अघि बढाइरहेको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्र सरकारको रु. १,२१९ अर्ब खर्च तथा रु. ३६६ अर्ब राजस्व कारोबार एनसीएचएलको प्रणालीमार्फत सम्पन्न भएको थियो।
थप जानकारीका लागि महालेखा नियन्त्रक कार्यालय वा एनसीएचएलको आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ।
For More:-Nepal government revenue payment