पुस सम्म ४७५ उद्योगमा ३९ अर्ब २३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी
४ माघ २०८२, काठमाडौं ।
पुस महिना सम्म नेपालका ४७५ उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ६४ हजार रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महीनामा उक्त लगानी प्रतिबद्धता आएको हो । यसअघि असोज सम्म ३११ ओटा उद्योगमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको थियो ।
विभागका अनुसार हालसम्म प्रत्यक्ष वैदेशिक लगानीको कुल प्रतिबद्धता ७ हजार ७१३ ओटा उद्योगमा ६ खर्ब ७५ अर्ब ४३ करोड ३३ लाख रुपैयाँ पुगेको छ । चालू आवमा प्राप्त लगानी प्रतिबद्धतामध्ये ७ ओटा ठूला, ८ ओटा मध्यम र ४६० ओटा साना उद्योग रहेका छन् ।
गत पुस महिनामा मात्रै ३६ ओटा साना उद्योगमा ५ अर्ब ९९ करोड ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । क्षेत्रगत रूपमा हेर्दा पछिल्लो ६ महीनामा उद्योग संख्याका आधारमा सूचना प्रविधिमूलक क्षेत्र अगाडि देखिएको छ ।
कृषि मुलक उद्योगमा अग्रस्थानमा
रकमका आधारमा भने कृषिमूलक क्षेत्र अग्रस्थानमा रहेको छ । कृषिमूलक १३ ओटा उद्योगमा २१ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । यस अवधिमा सूचना प्रविधिमूलक २५७ ओटा उद्योगका लागि १ अर्ब ७ करोड ८४ लाख ८६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
त्यसैगरी पर्यटनमूलक क्षेत्रका १४५ ओटा उद्योगमा १० अर्ब ५४ करोड २० लाख ५० हजार रुपैयाँ, उत्पादनमूलक क्षेत्रका २७ ओटा उद्योगमा २ अर्ब ३ करोड २३ लाख रुपैयाँ, ऊर्जामूलक क्षेत्रको एउटा उद्योगमा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ, खनिज क्षेत्रको एउटा उद्योगमा ४ करोड ५० लाख रुपैयाँ र सेवामूलक क्षेत्रका ३१ ओटा उद्योगमा ३ अर्ब ४६ करोड ६० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
For More:-Nepal Foreign Investment Poush



