अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ : सञ्चारमन्त्री खरेल
२१ मंसिर, काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनुपम प्रकृति र ऐतिहासिक संस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्नेमा जोड दिएका छन् ।
ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको शनिबार अवलोकन गर्दै मन्त्री खरेलले परम्परागत सम्पदा, कला र संस्कृतिको धरोहर ललितपुरको सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइने विश्वास व्यक्त गरे ।
सञ्चारमन्त्री खरेलले भने, ‘नेपालको ऐतिहासिक, परम्परागत कला र संस्कृतिको जगेर्ना गर्दै यसैको माध्यमबाट विश्वसामु नेपाल प्रवद्र्धन गरिनुपर्छ । ललितपुरको सांस्कृतिक सम्पदा र खाना संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्छ ।’
सञ्चारमन्त्री खरेलले विभिन्न जातजाति, भाषा, संस्कृति र सम्पदा हाम्रो मौलिक पहिचान हो भन्दै सम्पदा शहरको नाममा देश विदेशमा प्रख्यात ललितपुरको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सबै जुट्नुपर्ने खाँचो औंल्याए ।
ललिपतुरका मुर्त र अमूर्त सम्पदा संरक्षणमा धार्मिक, संस्कृतिक, ऐतिहासिक कलानगरीको रुपमा परिचित ललितपरको समग्र विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच बलियो समझदारी र सहकार्य जरुरी भएको उल्लेख गरे ।
मन्त्री खरेलले विश्व सम्पदाको सूचिमा सूचिकृत ललितपुरको पाटन दरबार क्षेत्र, ऐतिहासिक कृष्णमन्दिर, पाटन दरबार सङ्ग्रहालको अवलोकन गरे ।
मन्त्री खरेलले सङ्ग्रहालयमा जारी ‘क्राफ्ट एन्ड कल्चरल फेस्टिभलको समेत अवलोकन गरे । प्रदर्शनीका संयोजक आनन्दवीर बज्राचार्यका अनुसार पाँच दिने प्रदर्शनीमा परम्परागत कला संस्कृति झल्कने सामग्रीहरु प्रदर्शनमा राखिएको छ ।
For More:-Nepal Culture Nature Promote



