१९ साउन, काठमाडौं।
नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र श्रीलङकन चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज (SLCSME) बीच साना तथा मझौला उद्यम (SMEs) प्रवर्द्धन, व्यापार र लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सम्झौता भएको छ।
श्रीलङकास्थित नेपाली राजदूतावासको समन्वयमा भएको उक्त सम्झौता श्रीलङकाका लागि नेपाली राजदूत डा. पूर्ण बहादुर नेपालीको उपस्थितिमा सम्पन्न भएको हो। सम्झौतापत्रमा एनसीसीका तर्फबाट अध्यक्ष कमलेश कुमार अग्रवाल र SLCSME का तर्फबाट अध्यक्ष रोहन डी शिल्भाले हस्ताक्षर गरे।
चेम्बरद्वारा जारी विज्ञप्तिअनुसार, दुई देशबीच साना तथा मझौला उद्यमहरुको प्रवर्द्धन, द्विपक्षीय व्यापार, लगानी अवसर तथा निजी क्षेत्रबीच व्यापार सहजीकरणका विषयमा सहकार्य गरिनेछ। साथै, दुवै देशमा रहेका SME अभ्यास, नीतिगत संरचना, क्षमता अभिवृद्धि कार्यक्रम, प्रशिक्षण, कार्यशाला तथा गोष्ठीहरूमा समेत साझेदारी हुनेछ।
सम्झौताअनुसार, नेपाल र श्रीलङकाका चेम्बर प्रतिनिधिहरूबीच द्विपक्षीय भेटवार्ता, SME मा लगानी तथा प्रदर्शनीमार्फत उत्पादनको प्रवर्द्धन गरिने छ। साना तथा मझौला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको दुई देशमा प्रदर्शनी तथा व्यापारिक अभिवृद्धिका लागि समन्वय गरिने उल्लेख छ।
दुई पक्षीय व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण तथा SME सम्बन्धी सम्भावनाहरूमा संयुक्त खोज तथा अनुसन्धान गर्ने सहमति पनि भएको छ। चेम्बरका अनुसार, यो रणनीतिक साझेदारीले नेपाल र श्रीलङकाबीच साना तथा मझौला उद्यमको विकासमा दीर्घकालीन प्रभाव पार्नेछ।