ब्रिज कोर्स र इन्ट्रान्स प्रिपरेसन कक्षामा सरकारको पूर्ण प्रतिबन्ध, वैशाख १ देखि लागू हुने
१५ चैत, काठमाडौँ।
सरकारले विद्यालय तथा उच्च शिक्षामा भर्ना हुनुअघि सञ्चालन गरिने प्रवेश परीक्षा तयारी (इन्ट्रान्स प्रिपरेसन) र ब्रिज कोर्सका कक्षाहरूमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले मन्त्रीस्तरीय निर्णय गर्दै आगामी नयाँ वर्ष २०८३ वैशाख १ गतेदेखि लागू हुने गरी देशभर यस्ता सम्पूर्ण कक्षाहरू सञ्चालनमा प्रतिबन्ध लगाउने निर्देशन दिनुभएको हो। मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्री पोखरेलको उक्त निर्णय सार्वजनिक गरेको छ।
मन्त्रालयका अनुसार विभिन्न शैक्षिक संस्थाहरूले सञ्चालन गर्ने यस्ता तयारी कक्षाहरूले विद्यार्थी र अभिभावकमाथि अनावश्यक आर्थिक बोझ थपेको र शिक्षामा समतामूलक पहुँच पुर्याउने राज्यको नीतिमा बाधा उत्पन्न गरेको ठहर गरिएको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाद्वारा जारी विज्ञप्तिमा यस्ता कक्षाहरूले विद्यार्थीको मनोविज्ञानमा समेत नकारात्मक असर पारेकाले यो कदम चालिएको उल्लेख छ। अब उपरान्त कुनै पनि निजी वा शैक्षिक संस्थाहरूले ब्रिज कोर्स वा इन्ट्रान्स प्रिपरेसनका नाममा नयाँ भर्ना लिन पाउने छैनन्।
यस निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न मन्त्रालयले देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरिसकेको छ।
मन्त्रालयको निर्देशन विपरीत कसैले यस्ता कक्षाहरू सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रशासन कार्यालयहरूलाई पूर्ण जिम्मेवारी र अधिकार दिइएको छ।
शिक्षा क्षेत्रमा हुने व्यापारिकरण रोक्न र सबै विद्यार्थीका लागि समान अवसर सिर्जना गर्न यो निर्णय कोशेढुङ्गा सावित हुने मन्त्रालयको विश्वास छ।
For More:-Bridge Course Ban Nepal



