६ असार, काठमाडौं ।
नेपाल बैंक लिमिटेडले हालै विभिन्न सामाजिक सञ्जालमार्फत बैंकको नाम, लोगो तथा सेवासम्बन्धी झूटा र भ्रामक सूचनाहरू फैलाइएको भन्दै आम ग्राहकवर्गलाई सचेत रहन अनुरोध गरेको छ।
Nepal Bank Social Media Fraud
बैंकका अनुसार Facebook, Twitter, YouTube, TikTok, WhatsApp, IMO, Viber लगायतका माध्यमबाट विभिन्न व्यक्तिहरू वा समूहहरूले नेपाल बैंकको लोगो प्रयोग गरी ऋण स्वीकृति पत्र, बिजुली, उपहार कार्यक्रम, अनलाइन तथा पार्ट–टाइम रोजगारीका अवसरहरूको झूटा प्रचारप्रसार गरिरहेका छन्। यस्ता पोस्टहरूमा सामेल जानकारी झूटा तथा बैंकको आधिकारिक नीतिविपरीत रहेको बैंकले स्पष्ट पारेको छ।
बैंकका प्रवक्ताका अनुसार यस्ता पोस्टहरूको पछाडि अवैध रूपमा आर्थिक लाभ उठाउने मनसायले ठगी प्रवृत्तिका गतिविधिहरू बढ्दो क्रममा रहेको भन्दै त्यस्ता भ्रामक गतिविधिबाट सजग रहन आग्रह गरिएको छ।
त्यसैगरी, खाताको KYC अपडेट गर्ने, कार्ड नविकरण गर्ने वा अनलाइन शपिङ प्रयोग गर्ने बहानामा OTP, लिंक, पिन कोड तथा पासवर्ड माग्ने कार्यप्रति पनि ग्राहकवर्गलाई सतर्कता अपनाउन बैंकले चेतावनी दिएको छ।
नेपाल बैंकले ग्राहकहरुलाई यस्ता झूटा प्रचारप्रसार तथा गोप्य सूचना माग्ने प्रवृत्तिबाट जोगिनुका साथै आवश्यक परेको खण्डमा आफ्नो नजिकको शाखा कार्यालय वा बैंकको कल सेन्टर नं. ०१–५९७०७७७ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।
साथै, बैंकका आधिकारिक जानकारीहरू हेर्नका लागि मात्र बैंकको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल खाताहरू (Facebook: @nepalbankltd, Twitter: @bank_nepal, Instagram: @nepalbanklimitedofficial) मा मात्र भर पर्न आग्रह गरिएको छ।
For More:-Nepal Bank Social Media Fraud