३१ असार, काठमाडौं ।
नेपाल बैंक लिमिटेडले मकवानपुरका शिक्षक रघुनन्दन यादवको सडक दुर्घटनामा भएको निधनपश्चात् उहाँको परिवारलाई ५ लाख रुपैयाँको दुर्घटना बीमादाबी रकम भुक्तानी गरेको छ।
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालयका शिक्षक तथा नेपाल बैंकको पालुङ शाखाका कर्मचारी तलब खाताका ग्राहक समेत रहेका यादवको २०८२ जेठ १२ गते थाहा नगरपालिका वडा नम्बर ३ मा सडक दुर्घटनामा निधन भएको थियो।
बैंकको कर्मचारी तलब खाताको विशेषताअनुसार, खाता खोलेको एक वर्षभित्र ग्राहकको मृत्यु भएमा ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाइन्छ। सोही व्यवस्थाबमोजिम यादवको परिवारले गरेको मागदाबीको बैंकले अविलम्ब भुक्तानी गरेको हो।
नेपाल बैंकले असार २२ गते एक कार्यक्रम आयोजना गरी उक्त बीमा रकमको चेक स्वर्गीय यादवकी पत्नी अमिरा कुमारी यादवलाई हस्तान्तरण गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलक राज पाण्डेयले मृतक रघुनन्दन यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरे।
कार्यक्रममा सीईओ पाण्डेयले नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षालाई सधैं उच्च प्राथमिकता दिँदै आएको र आगामी दिनमा पनि उत्कृष्ट ग्राहक सेवा र सुरक्षालाई निरन्तरता दिने बताए।
स्वर्गीय रघुनन्दन यादवकी पत्नी अमिरा कुमारी यादवले दुःखको घडीमा बिना कुनै झन्झट नेपाल बैंकबाट प्राप्त यो आर्थिक सहयोगले परिवारको भरणपोषणमा ठूलो राहत मिलेकोमा बैंकप्रति आभार व्यक्त गरिन्।
नेपाल बैंक लिमिटेडले देशभर आफ्ना ग्राहकहरूलाई विश्वासिलो सेवा, वित्तीय सुरक्षा र सहज पहुँच उपलब्ध गराउँदै आएको छ।
For More:-Nepal Bank Insurance Payout