एनसेलको निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेट सेवाको समयावधि बढ्यो
२६ भदौ, काठमाडौं।
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकहरूलाई दिइरहेको निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवाको समयावधि बढाएको छ।
यसअघि दुई दिनका लागि मात्र उपलब्ध गराइएको यो सेवा अब थप एक दिन बढाएर शुक्रबारसम्म कायम गरिएको छ।
हालको विषम परिस्थितिमा आफ्ना ग्राहकहरूलाई आफन्त तथा परिवारसँग सम्पर्कमा रहन सहज होस् भन्ने उद्देश्यले एनसेलले गत मंगलबारबाट यो सेवा दिन थालेको थियो। यो सुविधा अन्तर्गत एनसेलका ग्राहकले कुनै पनि शुल्क नलाग्ने गरी नेपाल टेलिकमको नेटवर्कमा पनि लोकल भ्वाइस कल गर्न सक्छन्।
यससँगै, ग्राहकहरूले निःशुल्क इन्टरनेट र एसएमएस सेवा पनि उपभोग गर्न पाउनेछन्। कम्पनीले यस सेवाको समयावधि बढाएर ग्राहकहरूलाई थप राहत प्रदान गरेको छ।
For more: Ncell Extends Free Local Calls