११ भदौ, काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरण (#एनटीए) बाट अनुमति प्राप्त इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी एननेट (पर्पल) ले राजधानी काठमाडौँसहित नेपालभर इन्टरनेट र आईपीटिभी सेवा सुरु गरेको छ।
कम्पनीले आफ्ना खुद्रा तथा संस्थागत ग्राहकलाई लक्षित गरी अत्याधुनिक फाइबर-टु-द-रुम (FTTR) प्रविधि तथा नयाँ पुस्ताको आईपीभी६ (IPv6) प्रविधिबाट सेवा सुरु गरेको जनाएको छ।
विश्वव्यापी रूपमा भविष्यको इन्टरनेट प्रविधिको आधार मानिएको आईपीभी६ लाई एनटीएले पनि अनिवार्य गरिसकेको छ। यसै सन्दर्भमा एननेटले यस प्रविधिलाई आफ्ना सेवामा समावेश गर्दै उच्च गुणस्तरको इन्टरनेट तथा आईपीटिभी अनुभव ग्राहकलाई उपलब्ध गराउने दाबी गरेको छ।
एननेटले आफ्नो सेवा क्रमिक रूपमा देशका शहरी, पहाडी, दुर्गम र हिमाली क्षेत्रमा विस्तार गर्ने जनाएको छ। यस अन्तर्गत शैक्षिक संस्था, स्वास्थ्य संस्था, वित्तीय संगठन, होटल, सरकारी कार्यालय, गैरसरकारी संस्था (NGO) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (INGO) जस्ता क्षेत्रका ग्राहकलाई लक्षित गरिएको छ।
नेपालीहरुको महान चाड बडा दशैं, तिहार र छठलाई लक्षित गर्दै कम्पनीले विशेष इंट्रोडक्टरी अफर ल्याएको छ।
खुद्रा ग्राहकले १५% सम्म छुटसहित ३ महिनासम्म बोनस पाउनेछन् भने साना तथा मध्यम उद्यम (SME) ग्राहकले ५०% सम्म छुट, ३ महिनासम्म बोनस र सोही मूल्यमा दोब्बर ब्यान्डविथ स्पीडको सुविधा पाउनेछन्।
“एननेट, सधैंसँगै” भन्ने नारासहित कम्पनीले आफ्ना सेवाहरूलाई अझै भरपर्दो, गुणस्तरीय र भविष्यमा प्रयोग हुने प्रविधिसँग मेल खाने गरी सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ।
For more: Nationwide Internet IPTV Services