२४ वैशाख, काठमाडौं।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र NAM S&T Centre को सहकार्यमा आयोजित तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन “Science and Technology Information Management System: Practices and Experiences” आज ललितपुरमा सुरु भएको छ।
नेपालमा विश्वभरका विज्ञहरूको भेला
सम्मेलनमा नेपालसहित NAM S&T Centre का सदस्य राष्ट्रहरूबाट ११० भन्दा बढी सूचना प्रविधि तथा डाटा साइन्स विज्ञहरू सहभागी भएका छन्। सम्मेलनको उद्देश्य सूचना व्यवस्थापनको क्षेत्रका अनुभवहरू साटासाट गर्नुका साथै रणनीतिक योजना निर्माणमा सहयोग पुर्याउनु हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा नास्टका सहकुलपति माननीय रघुजी पन्तज्यूले उद्घाटन सत्रमा सम्बोधन गर्दै, सूचना युगमा अधिकतम फाइदा लिन अनुभवको आदानप्रदान आवश्यक रहेको बताए। साथै, प्रविधिमा दक्ष जनशक्ति नेपालमै राख्न सकिने वातावरण निर्माण चुनौतीपूर्ण भए पनि आवश्यक रहेको धारणा व्यक्त गरे।
नीति र अनुसन्धानलाई जोड्ने प्रयास
नास्टका सचिव डा. रविन्द्र प्रसाद ढकालले सम्मेलनको उद्देश्य नास्टमा विज्ञान तथा प्रविधिको सूचना प्रणाली व्यवस्थित गर्न अलग केन्द्र स्थापना गर्नु रहेको जानकारी दिनुभयो। सम्मेलनले अन्तर्राष्ट्रिय ज्ञान आदानप्रदान मार्फत रणनीति तय गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
सम्मेलनमा सात वटा विषयगत क्षेत्र समेटिएका छन्:
न्यून स्रोत भएका देशहरूमा S&T डाटा व्यवस्थापन
सूचना व्यवस्थापनका वर्तमान र आउँदा चुनौतीहरू
नीतिगत तथा सुशासनसम्बन्धी विषयहरू
खुला पहुँच र वैज्ञानिक ज्ञानको समान पहुँच
प्रारम्भिक चरणका अनुसन्धानकर्ता
सूचना प्रणालीको सुरक्षा र अखण्डता
सम्मेलनमा ५ वटा की-नोट स्पिकर, १ विशेष अतिथि, सदस्य राष्ट्रहरूबाट ९ कार्यपत्र, नेपालबाट १६ कार्यपत्र र १० पोस्टर प्रस्तुतिकरण हुने छन्।
नास्टलाई प्रविधि सूचना केन्द्र बनाउने तयारी
नास्टका उपकुलपति प्रा. डा. दिलीप सुब्बाले नास्टले सूचना प्रविधिलाई उच्च प्राथमिकता दिएको बताउनु भयो। उहाँले नास्टलाई विज्ञान तथा प्रविधिको सूचना व्यवस्थापनको क्षेत्रीय केन्द्रको रूपमा विकास गर्न अग्रसर रहेको जानकारी दिए।
NAM S&T Centre का महानिर्देशक डा. अमिताव बन्दोपाध्यायले न्यून आय भएका राष्ट्रहरूमा प्रविधिको विकास गर्न वैज्ञानिक सम्मेलन, प्रकाशन र सहकार्यका माध्यमबाट केन्द्रले सहयोग गर्दै आएको बताए। नेपालमा भइरहेको यो सम्मेलन पनि सोही प्रयासको एक हिस्सा भएको बताए।
प्रविधि, अर्थतन्त्र र विकास एकैसाथ
नेपालका तर्फबाट प्रा. डा. शशिधर राम जोशीले प्रविधिको विकास, आर्थिक प्रगति र वैज्ञानिक अनुसन्धानलाई जोड्दै मात्र राष्ट्रको समग्र विकास सम्भव हुने विषयमा रोचक प्रस्तुति दिए।
सम्मेलनको अन्तिम दिन सूचना तथा संचार प्रविधि मन्त्रीको उपस्थितिमा समापन सत्र हुने कार्यक्रम तय गरिएको छ।
For more: NAST International Conference 2025