नाइमाको पहिलो वार्षिक साधारण सभा सम्पन्न, भावी कार्यदिशा र रणनीति अनुमोदन
२९ मंसिर, काठमाडौं ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) को पहिलो वार्षिक साधारण सभा (AGM) काठमाडौंको कमलपोखरीस्थित नाइमाको कार्यालयमा सम्पन्न भएको छ। अध्यक्ष ऋतु सिंह वैद्यको अध्यक्षतामा सम्पन्न सभाले संस्थाको आगामी वर्षका कार्यक्रम, रणनीतिक योजना तथा संस्थागत संरचनालाई औपचारिक रूपमा अनुमोदन गरेको छ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले स्थापनाको छोटो अवधिमै नाइमा नेपालको मोबिलिटी क्षेत्रको एकीकृत र सशक्त आवाजका रूपमा स्थापित हुन सफल भएको बताइन्। उनले विगत नौ महिनामा संस्थागत सुदृढीकरणसँगै NAIMA Nepal Mobility Expo 2025 सफलतापूर्वक आयोजना गरिएको उल्लेख गर्दै उक्त एक्स्पोले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रमा नवीन प्रविधि, दिगोपन र सम्भावनालाई उजागर गरेको बताइन्।
सभामा नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वार्षिक प्रगति विवरण तथा आगामी वर्षको कार्यक्रम र बजेट प्रस्तुत गरे। उनले संस्थाको दीर्घकालीन लक्ष्य प्राप्तिका लागि प्रभावकारी कार्ययोजना र पारदर्शी वित्तीय व्यवस्थापनप्रति प्रतिबद्धता व्यक्त गरे।
साधारण सभाले आर्थिक वर्ष २०८२/८३ का लागि नियमित मोबिलिटी संवाद, क्षमता अभिवृद्धि तालिम, क्षेत्रगत अध्ययन–अनुसन्धान, नीतिगत बहस तथा पैरवी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। साथै, NAIMA Nepal Mobility Expo 2026 आयोजना गर्ने तथा आगामी मोबिलिटी एक्स्पो २०८३ साल श्रावण २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने तयारी भइरहेको जानकारी पनि दिइयो।
संस्थागत सुदृढीकरण अन्तर्गत सदस्य आकाश गोल्छाको नेतृत्वमा स्ट्राटेजी तथा मेम्बरशिप अफेयर्स कमिटी गठन गरिएको छ। त्यस्तै, Megatech Group Pvt. Ltd. लाई नयाँ सदस्यका रूपमा स्वागत गरिएको छ भने कम्पनीका सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा कमिटीको सदस्यमा मनोनयन गरिएको छ।
सभाको समापनमा अध्यक्ष वैद्यले सबै सदस्यप्रति आभार व्यक्त गर्दै नेपालको मोबिलिटी क्षेत्रको दीर्घकालीन विकासका लागि नाइमाले सक्रिय, जिम्मेवार र प्रभावकारी भूमिका निर्वाह गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन्।
For More:-NAIMA First AGM Concludes



