नाडाले भन्यो: मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रको अपेक्षा पूरा गरेन

NADA Monetary Policy Automobile
Share It On:

२७ असार, काठमाडौं।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नाडाका अनुसार यो मौद्रिक नीति अटोमोबाइल व्यवसायीहरूको अपेक्षाभन्दा धेरै टाढा रहेको छ।

नाडाले अटोमोबाइल क्षेत्रले दिएका सुझावहरूलाई मौद्रिक नीतिले गम्भीरतापूर्वक नलिएको र कतै पनि सम्बोधन नगरेको बताएको छ। सवारी साधन आयात सहजीकरण, लक्जरी, हेभी सेग्मेन्ट र उच्च प्रविधिका सवारी साधनसम्बन्धी पुराना नीतिहरू यथावत् राखिएकोमा नाडाले असन्तुष्टि व्यक्त गरेको छ।

विद्युतीय सवारी-साधनमा मिश्रित प्रतिक्रिया

मौद्रिक नीतिले विद्युतीय सवारीसाधनका लागि भन्सार तथा कर छुट कायम राखेको छ, जसलाई नाडाले सकारात्मक मानेको छ। यद्यपि, विद्युतीय सवारीका लागि प्रत्यक्ष कर्जा प्रवाहलाई प्राथमिकता नदिइएकोमा नाडाको असहमति छ। नीतिमा ग्रीन फाइनान्स र दिगो यातायात पूर्वाधार विकासलाई प्रोत्साहन गर्ने उल्लेख भए पनि यसलाई ‘ग्रीन अग्रसरता’ को रूपमा मात्र लिइएको नाडाको भनाइ छ।

कर्जा नीतिमा यथास्थिति

सवारी ऋण, विशेषगरी इन्धनबाट चल्ने र लग्जरी सवारीका लागि, लोन-टु-भ्यालु (LTV) प्रावधानमा कडाइ यथावत् राखिएको छ। व्यक्तिगत सवारी ऋणका लागि दिइने कर्जा प्रावधानमा कुनै संशोधन नगरिएकोले यसले अनुदार नीतिलाई नै निरन्तरता दिएको नाडाले औँल्याएको छ। यद्यपि, हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत तथा प्रक्रियागत व्यवस्थामा ‘फिट एन्ड प्रोपर टेस्ट’, कर्जाको ब्याजदर गणना र सेवा शुल्कलगायतका विषयमा संशोधन गरिने भनिएको कुरालाई नाडाले सकारात्मक भनेको छ।

आयात सहजीकरणमा उदासीनता

हालैका बाढी र सीमासम्बन्धी अवरोधहरूले आयातमा बाधा पुर्‍याएको स्वीकार गरिए पनि सवारी साधन आयात सहज बनाउने सम्बन्धमा कुनै नयाँ उपाय नीतिमा समावेश नगरिएको नाडाको भनाइ छ। नेपाल राष्ट्र बैंकले सम्बन्धित मन्त्रालय र भन्सार बिन्दुमा समन्वय गर्ने इच्छा देखाए पनि ठोस कार्यान्वयनका लागि पहल नगरिएको नाडाले बताएको छ।

अटोमोबाइल क्षेत्रको उपेक्षा

मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रको उत्थानका लागि कुनै विशेष रोडम्याप वा सुधारका कार्यक्रमहरू नभएको नाडाले गुनासो गरेको छ। उत्पादनमुखी क्षेत्रलाई सामान्य प्राथमिकता दिइएको भए पनि अटोमोबाइल क्षेत्रलाई स्पष्ट रूपमा नीतिगत प्राथमिकतामा नराखिएको नाडाको भनाइ छ।

नाडाले विद्युतीय इकोसिस्टमको प्रवद्र्धन, रोजगारी सिर्जना र देशको औद्योगिकीकरणमा अटोमोबाइल क्षेत्रको योगदानलाई पहिचान गर्दै यस क्षेत्रको वृद्धिका लागि स्पष्ट नीति र सहयोग अपरिहार्य रहेकोमा जोड दिएको छ। एशोसिएशनले अटोमोबाइल क्षेत्रको आर्थिक महत्वलाई गम्भीरतापूर्वक स्वीकार गरी नीतिगत सहजीकरणका लागि तत्काल कदम चाल्न सरकारसँग जोडदार माग गरेको छ।

For More:-NADA Monetary Policy Automobile


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *