नाडाका अध्यक्ष करण चौधरी र यातायात विभागको छलफल: सवारी साधन निर्देशिका २०८२ मा के छ?

NADA Meet Transport Department
Share It On:

१४ साउन, काठमाडौं।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आज यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलसँग भेट गरी विभागले ल्याउन लागेको ‘सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२’ का सम्बन्धमा विस्तृत छलफल गरेको छ।

छलफलमा विशेषगरी सवारी आयात, उत्पादन र जडान, नेपाल यातायात व्यवसायी महासंघको माग सम्बन्धमा विद्युतीय सवारी साधनको वारेन्टी, ग्यारेन्टी, अथराइज्ड सर्भिस सेन्टर, चार्जिङ स्टेसनको व्यवस्था गरेर मात्र आयात गर्न पाउने लगायतका विषयमा गहन कुराकानी भएको थियो।

अन्य महत्वपूर्ण विषयहरूमा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने, प्रयोग भएका ब्याट्रीको दीर्घकालीन व्यवस्थापन, डुप्लिकेट सर्टिफिकेसन, डकुमेन्टेसन, छाप र लोगो प्रयोग, मोटर क्षमता र सिट संख्यामा भएको विवाद, भन्सार महसुल निर्धारणका लागि आधारहरूको सिफारिस, ट्याक्सीमा प्रयोग हुने सवारी साधनहरू व्यक्तिगत सवारीभन्दा महँगो भएको ट्याक्सी व्यवसायीको गुनासो र आयात हुने सवारीमा GPS अनिवार्य गर्ने लगायतका बुँदाहरूमा छलफल भएको थियो।

छलफलका क्रममा नाडाका अध्यक्ष चौधरीले निर्देशिकाको विषयमा बुँदागत छलफल गरिनुपर्ने धारणा राख्दै नाडामा विस्तृत छलफल गरी विभागलाई सुझाव पठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। विभागले छलफलका लागि बोलाएकोमा उहाँले आभार प्रकट गर्नुभयो।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले निर्देशिकामा रहेका केही बुँदाहरू नेपालको सन्दर्भमा व्यावहारिक बनाउनुपर्ने र कतिपय जटिल विषयमा थप छलफलको आवश्यकता रहेको बताउनुभयो।

विभागका महानिर्देशक पोखरेलले नेपालमा सवारी साधन आयात, उत्पादन तथा जडानका सम्बन्धमा कुनै स्पष्ट नीति नियम नभएकाले यो निर्देशिका ल्याउन लागेको स्पष्ट पार्नुभयो। उहाँले यसका लागि विभिन्न चरणमा छलफल गरिने बताउँदै सरकार व्यवसायीहरूको परिपूरकका रूपमा उभिने र देशको आर्थिक विकासमा निजी क्षेत्रको ठूलो भूमिका हुनेमा जोड दिनुभयो।

महानिर्देशक पोखरेलले नाडाका अध्यक्ष चौधरीको ‘सवारी साधनका लागि टेस्टिङ फेसिलिटीको व्यवस्था गर्न सकिने’ प्रस्तावमा प्रतिक्रिया दिँदै मुख्यतः तीनवटा विषयमा नाडासँग सहकार्य गरेर अघि बढ्न सकिने बताउनुभयो। उहाँले यो सही समयमा सही छलफल भएको धारणा राख्नुभयो।

छलफलमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले नेपालमा सवारी साधन आयात सम्बन्धी व्यवस्थाहरूका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो। उक्त छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो।

For more: NADA Meets Transport Department


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts