नाडा र बागमती प्रदेश सरकारबीच अटोमोवाइल क्षेत्रको विकासका लागि सहकार्य हुने
१० चैत, काठमाडौँ।
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (NADA) का नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियासँग भेटघाट गरी अटोमोवाइल क्षेत्रका समसामयिक विषयमा विस्तृत छलफल गरेको छ।
उक्त भेटमा प्रदेश सरकार र नाडाबीच पूर्वाधार विकास र जनशक्ति उत्पादनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
यातायात व्यवस्थापन र पूर्वाधारमा मुख्यमन्त्रीको जोड
भेटघाटका क्रममा मुख्यमन्त्री बानियाले नाडाको नयाँ केन्द्रीय कार्य समितिलाई कार्यकाल सफलताको शुभकामना दिँदै संस्थाको ५० वर्ष लामो अनुभवको प्रशंसा गर्नुभयो।
नेपालका कुल सवारी साधनमध्ये ५० प्रतिशत बागमती प्रदेशमा नै दर्ता हुने तथ्यलाई औंल्याउँदै उहाँले राजधानीको ट्राफिक जाम र पार्किङ समस्या समाधानका लागि नाडा र प्रदेश सरकारले मिलेर काम गर्नुपर्ने धारणा राख्नुभयो।
साथै, दक्ष जनशक्ति उत्पादन र अत्याधुनिक ट्रायल सेन्टर सञ्चालनमा समेत नाडाको प्राविधिक सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो।
अटोमोवाइल क्षेत्रमा १ खर्बको लगानी र जनशक्ति अभाव
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालको अटोमोवाइल क्षेत्रको आर्थिक महत्वबारे प्रष्ट पार्दै यस क्षेत्रमा १ खर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको जानकारी दिनुभयो।
देशभरका ७ वटै प्रदेशमा फैलिएको नाडामा हाल २,८८३ सदस्य कम्पनीहरू आबद्ध छन्। अध्यक्ष उप्रेतीका अनुसार नेपालको अटोमोवाइल बजारलाई व्यवस्थित बनाउन वार्षिक करिब ५,००० नयाँ दक्ष जनशक्ति आवश्यक पर्ने देखिएको छ।
यसका लागि नाडाले छिट्टै बागमती प्रदेश सरकारसँग सहकार्यको ठोस खाका (Modality) पेश गर्ने प्रतिबद्धता समेत जनाएको छ।
सीपमूलक तालिम र प्रतिभा पलायन रोक्ने लक्ष्य
भेटघाटका क्रममा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नेपालबाट भइरहेको प्रतिभा पलायन (Brain Drain) रोक्न अटोमोवाइल क्षेत्रले रोजगारी र सीपमूलक तालिममा विशेष जोड दिइरहेको बताउनुभयो।
त्यस्तै, नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले विश्व बजारमा भित्रिएको नयाँ प्रविधिसँग प्रतिस्पर्धा गर्न नेपालमा पनि परिष्कृत पाठ्यक्रम र दक्ष प्रशिक्षकको आवश्यकता रहेको औंल्याउनुभयो।
प्रतिनिधि मण्डलको सहभागिता
उक्त छलफलमा नाडाका संस्थागत उपाध्यक्षद्वय भद्र भण्डारी र गणेश भट्टराई, उपाध्यक्षद्वय विक्रम सिंहानिया र अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल, र सह-कोषाध्यक्ष निलमणी पाठकको उपस्थिति थियो।
त्यसैगरी, केन्द्रीय कार्य समिति सदस्यहरू दीपकराज गिरी, नारायणप्रसाद पौडेल र राजेश गिरीले पनि अटोमोवाइल क्षेत्रको दिगो विकासका लागि आफ्ना धारणा राख्नुभएको थियो।
For more: NADA Leadership Meets Bagmati CM


