२९ भदौ, काठमाडौं।
हालै देशव्यापी रूपमा भएको आन्दोलन र प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको भन्दै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। एक प्रेस विज्ञप्ति जारी गर्दै नाडाले आन्दोलनबाट प्रभावित सम्पूर्ण परिवारप्रति समवेदना प्रकट गरेको छ।
प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै नाडाले दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै, घाइते भएका सबै नागरिकको शीघ्र स्वास्थ्य लाभको लागि समेत प्रार्थना गरिएको छ।
अटोमोबाइल क्षेत्रमा आन्दोलनको प्रभाव र चुनौती
नेपालको अटोमोबाइल क्षेत्र देशको अर्थतन्त्र, उद्योग र रोजगारीको महत्वपूर्ण आधारशिला भए पनि हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर परेको नाडाले जनाएको छ। कर्मचारी, ग्राहक र सम्पूर्ण व्यावसायिक संरचनाको सुरक्षामाथि समेत चिन्ता बढेको विज्ञप्तिमा उल्लेख छ।
वर्तमान अवस्थाले उपभोक्ताको विश्वासमा नकारात्मक असर पुर्याउनुका साथै दीर्घकालीन रूपमा लगानी र रोजगारीमा पनि चुनौती थपिएको नाडाको ठहर छ।
शान्तिपूर्ण संवाद र सरकारसँगको आग्रह
नाडाले शान्तिपूर्ण संवाद र सहमतिको बाटोबाट हरेक जटिल समस्याको समाधान खोज्न सकिन्छ भन्ने आफ्नो गहिरो विश्वास रहेको बताएको छ। साथै, सम्पूर्ण व्यावसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गर्दै अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न पनि सरकारलाई आह्वान गरेको छ।
नाडाले आफ्ना सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास र देशको समग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ। एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र सकारात्मक संवादबाट मुलुक चाँडै नै स्थायित्वतर्फ अघि बढ्ने विश्वाससमेत नाडाले व्यक्त गरेको छ।
नयाँ सरकारलाई शुभकामना
नेपालले इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री पाएकोमा नाडाले खुसी व्यक्त गर्दै नयाँ सरकारलाई शुभकामना दिएको छ। छिट्टै मन्त्रिपरिषद् गठन हुने र यस सरकारले आगामी ६ महिनाभित्र आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी लिएको सन्दर्भमा यो सरकारले आम नेपाली जनताको भावना र मर्मलाई आत्मसात गर्न सफल हुने विश्वास व्यक्त गरिएको छ।
नाडाले नयाँ सरकारको सफल कार्यकालको लागि समेत शुभकामना दिएको छ।
For more: NADA Issues Statement