७ चैत, काठमाडौं ।
“नीति सुधारको माग – भन्सार विभाग र नाडाबीचको छलफलमा व्यवसायीहरूले स्वच्छ व्यापार वातावरण र स्पष्ट नीति निर्माणका लागि सरकारलाई ध्यानाकर्षण गराए। ”
नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) र भन्सार विभागबीच अटोमोबाइल व्यवसायसम्बन्धी विभिन्न विषयमा छलफल भएको छ। नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक महेश भट्टराईसँग भेट गरी अटोमोबाइल व्यवसायलाई सहज बनाउने विषयमा आवश्यक संशोधन र नीति निर्माणबारे माग राखेको हो।
महासचिव उप्रेतीले नाडाका विभिन्न समितिहरूबाट संकलित सुझावहरू प्रस्तुत गर्दै आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा आवश्यक संशोधनको आवश्यकता रहेको बताए। उनले सरकारलाई व्यवसायीहरूको समस्यालाई ध्यानमा राखी नीति निर्माण गर्न आग्रह गरे। साथै, व्यवसायलाई सहज बनाउन भन्सार नीतिहरू स्पष्ट हुनुपर्ने र व्यवसायीहरूले स्वच्छ प्रतिस्पर्धाको वातावरणमा काम गर्न पाउनुपर्ने नाडाको प्रमुख माग रहेको उनले उल्लेख गरे।
भन्सार विभागका महानिर्देशक भट्टराईले व्यवसायीहरूले नैतिक व्यापारिक मान्यतालाई आत्मसात गर्नुपर्नेमा जोड दिँदै सरकारले पनि स्वच्छ व्यवसाय प्रवर्द्धन गर्न आवश्यक नीति तथा संयन्त्र निर्माण गर्ने बताए। उनले व्यवसायी र सरकारले पारस्परिक समन्वय बढाउनुपर्नेमा जोड दिए।
छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, लुब्रिकेन्टस् समितिका उपसभापति दीपक कुमार लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। उनीहरूले व्यवसायमैत्री नीति निर्माणका लागि सरकारसँग निरन्तर छलफल आवश्यक रहेको उल्लेख गरे।
नाडाले स्वच्छ व्यवसायको वातावरण तयार गर्न सरकारलाई विशेष आग्रह गरेको छ। साथै, अटोमोबाइल क्षेत्रलाई सहज बनाउने नीति तथा नियम लागू गर्नुपर्नेमा पनि ध्यानाकर्षण गराएको छ। छलफल सकारात्मक रूपमा सम्पन्न भए पनि नीतिगत सुधारबारे थप संवाद आवश्यक रहेको व्यवसायीहरूको धारणा रहेको छ।
For more: NADA & Customs Department 2081