नाडा अटो शो–२०२५ प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

Nada Auto Show 2082
Share It On:

३ भदौ, काठमाडौं ।

राजधानीको भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो–२०२५ सुरु भएको छ । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले १७औं संस्करणको नाडा अटो शोको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल विकासमा पछाडि परेकोले अब अरूभन्दा छिटो दौडनुपर्ने आवश्यकता औंल्याउँदै प्रविधिको तीव्र विकाससँगै युवा उद्यमी, व्यवसायी र विद्यार्थीलाई नयाँ सोच र ऊर्जाका साथ अघि बढ्न आग्रह गरे ।

उनले नेपाल स्मार्ट युगमा प्रवेश गरिसकेको र स्कुले विद्यार्थीहरूले समेत मोटरसाइकल र स्याटलाइट बनाउन थालेको उदाहरण दिँदै प्रविधिलाई कसैले नकार्न नसक्ने धारणा राखे ।

समारोहमा सहभागी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटोमोबाइल उद्योगमैत्री वातावरण बनाउन सरकारले नीति तथा संरचनागत सुधार गरिरहेको उल्लेख गरे । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पनि अटो उद्योग अर्थतन्त्रको प्रमुख हिस्सा भएको र ईभी बजारको विस्तार सकारात्मक रहेको बताए ।

यस वर्षको नाडा अटो शो करिब तीन लाख वर्गफुट क्षेत्रमा फैलिएको छ, जसमा एक लाख ६२ हजार ५ सय वर्गफुट प्रदर्शनी क्षेत्र समेटिएको छ । प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी ब्रान्ड, ४ वटा दुईपांग्रे सवारी ब्रान्डसहित १२५ भन्दा बढी प्रदर्शकको सहभागिता छ ।

मुख्य आकर्षणमा युनिट्री रोबोट्स नामक अत्याधुनिक चारपांग्रे रोबोट, डिपलको ईभीटोल यूएभी (उड्ने सवारी), भिन्टेज मोटर शो तथा ‘मेड इन नेपाल’ प्याभिलियन रहेका छन् ।

“गो फर मोर” भन्ने मूल नारासहित आयोजना गरिएको प्रदर्शनीमा स्मार्ट मोबिलिटी, इलेक्ट्रिक तथा हाइब्रिड सवारीसाधन, अटो पार्ट्स, टायर, ब्याट्री, लुब्रिकेन्ट, वित्तीय सेवा प्रदायक कम्पनीहरूको सहभागिता रहेको छ । खल्ती एपमार्फत टिकट खरिद गर्न सकिनेछ भने स्वास्थ्य, सुरक्षा, ट्राफिक सूचना र मिडिया डेस्कसमेतको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

नाडा अटो शो २०२५ भदौ ८ गतेसम्म चल्नेछ । यसपटकको शो नाडाको ५०औं वार्षिकोत्सवको अवसरमा आयोजना भएको हो, जसलाई अझ भव्य र सभ्य बनाउन विशेष तयारी गरिएको नाडा अध्यक्ष करण चौधरीले बताए ।

उनले अटो उद्योगबाट देशमा करिब १० लाख रोजगारी सिर्जना भएको उल्लेख गर्दै सीप र रोजगारीमार्फत युवालाई देशमै रोक्न अटोमोबाइल क्षेत्रले महत्वपूर्ण योगदान दिने बताए ।

For More:-Nada Auto Show 2082


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *