२५ साउन, काठमाडौं।
आगामी भाद्र ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १७औँ नाडा अटो शो २०२५ को उद्घाटन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीसँग भेटेर उक्त अटो शोको प्रमुख अतिथिको रूपमा उद्घाटन गरिदिन औपचारिक आग्रह गरेको थिए।
सो भेटघाटमा अध्यक्ष चौधरीले नाडा स्थापनाको ५०औँ वार्षिकोत्सव मनाउने क्रममा रहेको जानकारी गराए। उनले यस वर्षको अटो शोलाई विशेष रूपमा भव्य र बहुआयामिक बनाउन लागिएको बताए। प्रदर्शनीमा १२५ भन्दा बढी प्रदर्शक र ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू सहभागी हुनेछन्।
यस संस्करणमा इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरूलाई विशेष प्राथमिकता दिइनेछ। साथै, भिन्टेज मोटर शो पनि आकर्षणको केन्द्र हुनेछ।
पहिलो पटक नेपालमा प्रदर्शन हुन लागेका UNITREE रोबोट्स र Deepal EVTO1 UAV जस्ता आकर्षक र भविष्यउन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्रबिन्दु हुने अध्यक्ष चौधरीले जानकारी दिए।
प्रधानमन्त्रीले अटो शो उद्घाटन गर्न स्वीकार गरेपछि अटोमोबाइल व्यवसायीहरूले थप हौसला र प्रेरणा पाएको महसुस गरेका छन्। उक्त भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह-कोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेलको उपस्थिति रहेको थियो।
For More:-NADA Auto Show 2025 inauguration