१३ चैत, काठमाडौं ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई भेटेर स्वदेशमा उद्योग व्यवसाय गरेर आय आर्जन गर्ने वातावरण बनाउन आग्रह गरेको छ।
भेटघाटको क्रममा अध्यक्ष चौधरीले भारतीय मालवाहक साधनहरुको नेपालमा निर्वाध प्रवेशले नेपाली मालवाहक साधनहरुको व्यवसायमा ठूलो असर परिरहेको गुनासो गरे। उनले सरकारको उद्योग व्यवसायलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक हुन नसकेको बताए।
चौधरीले नेपालकै उत्पादनले बजार पाउने वातावरण हुनुपर्नेमा जोड दिँदै लुब्रिकेन्ट उद्योगको नाममा तयार वस्तु नै नेपालमा ल्याएर बिक्री वितरण भइरहेकोले यसलाई रोक्नुपर्ने धारणा राखे। नेपालमै टायर उद्योगहरु खोलिए पनि त्यसका लागि मापदण्डको व्यवस्था नभएको उनको भनाइ थियो। उनले बुट मोडेलमा बाह्य लगानी नेपालमा ल्याउन सम्भव रहेको पनि बताए।
उद्योगी व्यवसायीहरुले स्वदेशमा उद्योग व्यवसाय गरेर आय आर्जन गर्न सक्ने वातावरण बनाउनुपर्ने माग राख्दै नाडाले ६ बुँदे लिखित सुझाव पनि मन्त्री भण्डारीलाई बुझाएको छ।
नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले एजेन्सी दर्ता सम्बन्धी ऐन अहिलेसम्म पारित नहुँदा सवारी साधन पैठारीकर्ताहरुलाई ठूलो समस्या भइरहेकोले सो ऐन छिट्टै पारित गर्न आग्रह गरे। महासचिव सुरेन्द्रकुमार उप्रेतीले बन्द रहेको गोरखकाली रबर उद्योगलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी सञ्चालन गर्न र त्यस ठाउँलाई विशेष आर्थिक क्षेत्रको रुपमा प्रयोग गर्न सकिने धारणा राखे।
मन्त्री भण्डारीले नेपालको उद्योग व्यवसायको स्थितिबारे संसदमा गलत जानकारी पुगेको गुनासो गर्दै सरकारले खुल्ला बजार अर्थनीति अवलम्बन गरिरहेको बताए। उनले नाडाको सुझावहरु राजस्व परामर्श समितिमा पठाउन अनुरोध गरे। एजेन्सी दर्ता सम्बन्धी नयाँ ऐन तत्काल पारित हुने र नेपालमा उद्योग व्यवसायको समुचित उत्थानका लागि उपयुक्त वातावरण सिर्जना गर्न आफू लागिरहेको उनले बताए।
भेटघाटमा वाणिज्य सचिव गोविन्द कार्की, उद्योग सचिव कृष्णबहादुर रावत, निजी सचिव सुमन धिताल र स्वकीय सचिव आनन्दप्रसाद भट्ट पनि उपस्थित थिए। नाडाको तर्फबाट सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान उपस्थित थिए।
For more: NADA Advocates Industrial Growth