मदन भण्डारी विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह: विश्वविख्यात शिक्षाविद्हरूको उपस्थिति
२१ माघ काठमाडौँ।
नेपालमा विश्वस्तरीय विश्वविद्यालय बनाउने उद्देश्यले विसं २०७९ मा स्थापना भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एम्बस्ट) ले आफ्नो पहिलो दीक्षान्त समारोह यही माघ २५ गते आयोजना गर्ने भएको छ। चित्लाङस्थित आफ्नै परिसरमा आयोजना हुने यस ऐतिहासिक समारोहमा विश्व विख्यात शिक्षाविद् तथा वैज्ञानिकहरुको सहभागिता हुनेछ ।
समारोहका प्रमुख अतिथि उच्च शिक्षाका ख्यातिप्राप्त विज्ञ डा. जमिल साल्मी हुनुहुन्छ । उहाँले विश्व बैंकको उच्च शिक्षा संयोजक, डिएगो पोर्टल्स विश्वविद्यालय चिलीमा उच्च शिक्षा नीतिका सम्मानित प्राध्यापक र संयुक्त राज्य अमेरिकाको बोस्टन कलेजको अन्तर्राष्ट्रिय उच्च शिक्षा केन्द्रका अनुसन्धान फेलो रहेर चार दशकभन्दा लामो अनुभव हासिल गर्नु भएको छ ।
समारोहको विशेष अतिथिका रूपमा क्यानडाकी प्रा. सुजन फोर्टियर र सिंगापुरका प्रा. सीराम रामकृष्ण रहनु हुनेछ। म्याकगिल विश्वविद्यालयमा उपकुलपति एबं क्यानडाको प्राकृतिक विज्ञान तथा इन्जिनियरिङ अनुसन्धान परिषद्की अध्यक्ष रहनु भएकी प्रा फोर्टियर अनुसन्धान र नवप्रवर्तनमा परिवर्तनकारी योगदानका लागि परिचित हुनुहुन्छ । प्रा. रामकृष्ण इलेक्ट्रोस्पिनिङ र न्यानोप्रविधिका अग्रणी वैज्ञानिक हुनुहुन्छ र हाल उहाँ चीनको सिंह्वा विश्वविद्यालयका चेयर प्रोफेसर तथा चिनिया विज्ञान प्रतिष्ठान (कास) का प्राज्ञ पनि हुनुहुन्छ। उहाँहरु दुवै जना एम्बस्ट बोर्ड अफ ट्रस्टीजमा हुनुहुन्छ ।
दीक्षान्त समारोहको सभापतित्व विश्वविद्यालय बोर्ड अफ ट्रस्टीजका अध्यक्ष पद्म ज्योतिले गर्नु हुनेछ । संविधान सभाका सदस्य रहनु भएका श्री ज्योती नेपालको व्यापार र औद्योगिक क्षेत्रका अग्रणी व्यक्तित्व हुनुहुन्छ ।
समारोहमा विश्वविद्यालयका अध्यक्ष (प्रेसिडेन्ट) डा. राजेन्द्रध्वज जोशीले स्वागत मन्तब्यको क्रममा उद्योग तथा राष्ट्रिय अर्थतन्त्रको विकासमा विश्वविद्यालयले कसरी काम गर्दैछ भन्ने विषयमा प्रकाश पार्नु हुनेछ। त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानमा प्राध्यापक र डीन समेत रहनु भएका डा. जोशीले विश्व बैंक र यूएनडीपीमा शिक्षाविद् तथा वरिष्ठ सल्लाहकारको रूपमा लामो अनुभव हासिल गर्नु भएको छ ।
समृद्ध र न्यायपूर्ण नेपालको अभियानमा सहभागी हुँदै देशमा विश्वस्तरीय उच्च शिक्षा र उत्कृष्टता केन्द्रको विकास तथा नवप्रवर्तनको प्रवर्द्धनमा जुटिरहेको यस विश्वविद्यालयमा हाल जैविक कृषि, वन्य जैविक श्रोत, दिगो तथा उत्थानाशील पूर्वाधार, कृत्रिम बौद्दिकता तथा तथ्यांक विज्ञानको स्नातकोत्तर र विद्याबारिधिका कार्यक्रमहरु संचालन गरिरहेको छ। कार्यक्रममा ६६ जना विद्यार्थीहरु अनुसन्धानरत छन् । यस वर्ष तीन जना विद्यार्थीहरु दीक्षित हुनेछन् ।
Advertisement
कार्यक्रमको विवरण:
मिति: माघ २५, २०८२ (फेब्रुअरी ८, २०२६) आइतबार
स्थान: मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, चित्लाङ, नेपाल
समय: बिहान १०:३० देखि अपरान्ह ५ बजे सम्मMBUST First Commencement Ceremony
सञ्चारमाध्यम प्रतिनिधिहरूलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय आफ्नो पहिलो दीक्षान्त समारोहमा सामेल हुन हार्दिक निमन्त्रणा गर्दछ ।
उद्घाटनको अवसरमा दुई अन्य कार्यक्रमहरू पनि आयोजना गरिने छ । पहिलो कार्यक्रम माघ २४, २०८२ मा नेपाली उद्योग परिसंघसँग संयुक्त रूपमा “विश्वविद्यालय अनुसन्धानद्वारा आर्थिक वृद्धिको इन्धन” सम्बन्धी गोलमेच सम्मेलन आयोजना गरिने छ भने दोस्रो कार्यक्रम माघ २६, २०८२ मा “नेपालमा विश्वस्तरीय विश्वविद्यालय” सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरिने छ ।
For More:-MBUST First Commencement Ceremony

